
पोखरा । अहिले देशभर चिसो बढेको छ। देशका हिमाली भागमा हिमपात सुरु भएको छ। चिसोका कारण जनजीवन कष्टकर बनेको छ ।
हुम्लामा बिहिबार बिहानैदेखि हिमपात हुँदा जनजीवन प्रभावित भएको छ । आज दिनभरजसो नै हिमपात हुने सम्भावना रहेको मौसमविदले बताएका छन् ।
हिमपातका कारण हवाई उडान बिहानबाटै प्रभावित भएको छ । नेपालका पश्चिमी उच्च पहाडी र हिमाली भूभागमा भारी हिमपात हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यो प्रणाली आज अझै सशक्त भई देशका मध्य र पूर्वका उच्च पहाडी र हिमाली भूभागमा समेत हिमपातको सम्भावना रहेको छ । शनिबारसम्ममा यो प्रणालीको अन्त्य हुने महाशाखाको अनुमान छ ।
उच्च पहाडी र हिमाली भूभागमा भारी हिमपात हुन सक्ने र पहाडी भेगमा वर्षा हुनुका साथै तापक्रममा गिरावट आउने भएकाले सतर्क हुन सर्वसाधारणलाई महाशाखाले अनुरोध गरेको छ ।
