
जनकपुरधाम । जनकपुरधामको दुई स्थानमा शंकास्पद वस्तु फेला परेको छ । जनकपुरधाम उपमहानगरपालिका ९ संकटमोचन मन्दिरदेखि पश्चिम बागवानी जाने बाटोको छेउमा कुकर बम जस्तै देखिने शंकास्पद वस्तु राति फेला परेको हो ।
स्थानीय एक पसलेको पर्खालमा झोलामा राखिएको शंकास्पद वस्तु बम हुन सक्ने प्रहरीको आशंका रहेको छ । कुकर जस्तो देखिएकाले बमकै अशंकामा अहिले प्रहरी त्यहाँ घेरा हालेर आवत जावतमा रोक लगाएको छ ।
यसैगरी जनकपुरधाम उपमहानगरपालिका ९ देवी चोकदेखि थापा चोक जाने बाटोको छेउमा पनि शंकास्पद वस्तु फेला परेको छ । बम फेला परेको दुवै ठाउँ करिब ६०० मिटरको दूरीमा पर्छ।
त्यहाँ नजिकै घरहरु भएका कारण बम डिस्पोज गर्दा घरमा क्षति पुग्नसक्ने भन्दै सेनाले घरहरु खाली गराउन आग्रह गरेको प्रहरीले बताएको छ। घरहरु सबै खाली भइसकेपछि बम निष्क्रिय गरिने धनुषाका प्रहरी प्रवक्ता डिएसपी रामेश्वर कार्कीले जानकारी दिए। खाली ठाउँ नभएकाले बम निष्क्रिय गर्ने काम ढिलो भएको जनाइएको छ ।
