
पोखरा,१२ मंसिर । पोखरा उद्योग बाणिज्य संघले आयोजना गरेको राष्ट्रिय औद्योगिक ब्यापार मेलामा शुक्रबार मात्र ५० हजार भन्दा बढीले मेलाको अवलोकन गरेका छन् । यता मेलामा शुक्रबार २ करोडभन्दा बढीको कारोवार भएको पोखरा उद्योग बाणिज्य संघका महासचिव रविन्द्रबहादुर प्रजुले जानकारी दिए । शुक्रबार शैक्षिक संस्था समेत बन्द रहेकोले मेलामा विद्यार्थीहरुको घुइँचो थियो । मेला सकिन २ दिन बाँकी रहेको अवस्थामा आयोजकको अपेक्षा अनुसारकै दर्शक आएको महासचिव प्रजुले दावी गरे ।
उनका अनुसार शुक्रबारसम्म मेलामा १४ करोड ८७ लाखको कारोवार भएको छ भने २ लाख २३ हजारले मेलाको अवलोकन गरका छन् । शनिबार हुने अवलोकनकर्ताको चापलाई ध्यानमा राखेर सम्पूर्ण तयारी गरिएको र मेला अवलोकनकर्तालाई समयमै मेलास्थलमा प्रवेशको लागि पनि पोखरा उद्योग बाणिज्य संघले आग्रह गरेको छ । मेलामा औद्योगिक तथा व्यापारिक , हस्तकला, कृषि, पूष्प , अटो, सूचना तथा प्रविधिहरु, विभिन्न सरकारी तथा गैह्र सरकारी संघ संस्थाहरुको गतिविधीहरुको प्रदर्शनी , स्थानीय कला र सस्कृति झल्कने स्टल लगायत दैनिक उपभोग्य वस्तु ,घरायसी सरसामान, लत्ताकपडा, श्रृंगारका सामानहरुसहितका सबैजसो स्टलमा शुक्रबार अवलोकनकर्ताहरुको भीड रहेको थियो ।
मेला अन्तर्गत शनिबार विद्यालयस्तरीय नृत्य प्रतियोगितासहित रुपाहिल दोहोरी साँझ र सुनगाभा दोहोरी साँझबीच दोहोरी प्रतियोगिताको सेमी फाइनल हुनेछ । सो प्रतियोगिताको विजेताले फाइनलमा निरमाया दोहोरी साँझसँग प्रतिष्पर्धा गर्नेछ । यता विमलराज क्षेत्री, देव साहनी, प्रजापति पराजुली, जीवन दाहाल, चोलेन्द्र पौडेलसहितका कलाकार तथा पपतर्फ धिरज राईको बेजोड प्रस्तुति रहने छ । हाँस्यव्यङ्ग्य कलाकार राज राजेन्द्र र मनोज गजुरेलले पनि दर्शकलाई मनोरञ्जन प्रदान गर्ने साँस्कृतिक संयोजक पवन प्रजापतिले जनकारी दिए ।

