विद्यार्थीको आन्दोलनले शुक्रबार पठनपाठन प्रभावित, बन्द कार्यक्रम स्थगन

Share:

रञ्जन अधिकारी पोखरा, १२ मंसिर  /कास्कीमा क्रियाशिल विद्यार्थी संगठनहरुले आह्वान गरेको शैक्षिक संस्था बन्दका कारण शुक्रबार जिल्लाका अधिकांश विद्यालयमा पठनपाठन हुन सकेन । यद्यपी, बिहान भने प्रायः कलजेहरु खुलेका थिए । बन्दको हल्लाले विद्यालय समयमा धेरै विद्यार्थीहरु बाटैबाट फर्केको देख्न सकिन्थ्यो । केही शैक्षिक संस्थामा भने एकदुई पिरियड पठनपाठन भएर विद्यार्थी तथा शिक्षक फर्किए । ‘विहिबार विज्ञप्ती प्रकाशित गर्न ढिला भएकाले बिहान खुल्नु स्वभाविक हो ।’ नेकपा–माओबादी निकट बिद्यार्थी संगठन अखिल क्रान्तिकारीका संयोजक मणी न्यौपानेले भने– ‘विद्यालय समयपछि भने कडाई गरिएकै हो ।’

नोबेल एकेडेमीमा तोडफोड

imagesन्यूरोड स्थित नोवल एकेडेमीमा पुगेर चार जनाको समूहले ल्यापटप जलाउनुका साथै झ्यालको सिसा फोडेका थिए । शुक्रबार पूर्वान्ह ११ बजेको समयमा पुगेका सो समूहले एकेडेमीका एकाउण्टेण्टको ल्यापटप जलाउनुका साथै सिसा फोडेका हुन् । ‘बिहानै त हामी पनि संयमित भएका हौं । तर ११ बजिसक्दा पनि अटेर गरेर पठनपाठन सुरु गर्न लागेकाले कारबाही गरिएको हो ।’ न्यौपानेले भने । यसअघि, प्रहरीले पनि विद्यार्थीकै समूहले तोडफोड र ल्यापटमा क्षति पु¥याएको दाबी गरेको थियो ।

अर्को सरकारी गाडीमाथि पनि आगजनी

विद्यार्थीहरुले बिहान महिला विकास कार्यालय कास्कीको सरकारी गाडीमा आगजनी गरेका छन् । पोखराको न्यूरोडमा बा १ झ ३९८२ नम्बरको गाडी रोकेर विद्यार्थीहरुले आगजनी गरेका हुन् । तत्काल प्रहरीले आगो लगाउन खोज्ने विद्यार्थीलाई तितरवितर पार्दै आगो नियन्त्रणमा लिएकाले क्षति हुन भने नपाएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता केदार रजौरेले जानकारी दिए । विद्यार्थीहरुले विहिबार जिशिअ गाडी आगजनीको पनि जिम्मेवारी लिएका छन् ।

जिल्ला शिक्षा कार्यालय कास्कीमा विहिबार दिउँसो जिशिअको कुर्ची जलाउने क्रममा प्रहरीले पक्राउ गरेका अखिल क्रान्तिकारीका नेता नेत्र चापागाईंको रिहाई र अवैधानिक रुपमा संचालित शैक्षिक संस्था बन्दको माग राखेर आन्दोलनमा उत्रिएका अनेरास्ववियू, नेकपा माओवादी निकट अनेरास्ववियू क्रान्तिकारी, अखिल क्रान्तिकारी, अनेरास्ववियू छैठौ र अग्रगामी विद्यार्थी संगठनले शैक्षिक संस्था बन्दको आह्वान गरेका हुन् ।

यसैबीच समस्या समाधानका लागि शुक्रबार बसेको वार्तापछि विद्यार्थी संगठनले बन्दका कार्यक्रम स्थगित गर्ने भएका छन् । पक्राउ परेका चापागाईंलाई शनिबार छाड्ने सहमतिसँगै शैक्षिक संस्था बन्दको कार्यक्रम भने स्थगित गरिने अनेरास्ववियूका नेता अर्जुन अधिकारीले बताए । तर, शिक्षा कार्यालयले अवैधानिक रुपमा सञ्चालित शैक्षिक संस्था बन्द नभएसम्म आन्दोलन भने जारी रहने उनले स्पष्ट पारे । वार्तामा विद्यार्थीहरुले विहिबार भएका गाडी र कुर्ची आगजनी घटनाप्रति दुःख व्यक्त गर्दै आगामी दिनमा यस्ता कार्य नहुने प्रतिबद्धता जनाएका थिए ।

लामो समयदेखि माग पूरा गराउन आग्रह गरेपनि वेवास्ता गरेको भन्दै उनीहरुले विहिबारदेखि नै जिल्ला शिक्षा कार्यालय कास्कीमा अनिश्चितकालिन तालाबन्दी समेत गरेका छन् । माग पूरा नभएसम्म आन्दोलनका कार्यक्रम फिर्ता नलिने अखिल क्रान्तिकारी कास्कीका अध्यक्ष कृष्ण दाहालले बताए ।

कमेन्ट गर्नुहोस्
Share: