
पोखरा। पोखरा-८ सिमलचौरमा रहेको पिसजोन एकेडेमीका विद्यार्थीले सोमबार बृहत् विज्ञान प्रदर्शनी गरेका छन् । विज्ञानको चमत्कार र विकासले गरेका सांसारिक उपलब्धिलाई सरल तरिकाले विद्यार्थीहरुले स्थानीय स्रोत र साधानको उपयोग गरी प्रदर्शनी गरेका हुन् ।
कक्षा १ देखि १० सम्मका विद्यार्थीहरुले समूहगत रुपमा विभिन्न वस्तुहरुको प्रदर्शन गरेका थिए । उनीहरुले फायर सेन्सर रोवोर्ट, हाइड्रोलिक एक्जाभेटर, डोजर तथा क्रेन बनाएका थिए ।
यसैगरी स्मार्ट सिटी परिकल्पनाको डेमो प्रदर्शन, इलेक्ट्रिक कार, विण्ड मिल, सोलार हाउस, अम्ल वर्षा डेमो, वेटर रोवोर्ट, पेरिस कोप, ड्रिप इरिगेसन सिस्टम, मोटोर वोट, सर्भिङ रोवोर्ट, डान्सिङ बल बेस्ट अन लिक्विड प्रेसर, वाटर प्रेसर रकेट, इलेक्ट्रिक वाटर पम्प लगाययत ७९ वटा प्रदर्शनी विद्यार्थीेले गरेका थिए ।
प्रदर्शनी अवलोकन गर्दै पोखरा-८ सिमलचौर निवासी ६९ वर्षिय जगन गिरीले जमना फेरिएको बताए । विद्यार्थीको क्षमता र प्रदर्शनीको सरहाना गर्दै गिरीले विद्यालयले पटक पटक गर्ने सहक्रियाकलापमा आफूले सहभागिता जनाउँदै आएको बताए ।
विद्यार्थीहरुलाई पढाइसँगसँगै सहक्रियाकलापमा विशेष जोड दिँदै आएको विद्यालयले प्रदर्शनीलाई प्रतियोगितात्मक रुपमा उत्कृष्टलाई पुरस्कृत समेत गरेको थियो ।
कार्यक्रमको समापन गर्दै विद्यालयका संस्थापक तथा प्रमुख व्यवस्थापक योगेन्द्र शर्मा दाहालले विद्यार्थीहरु पढाइका साथमा सिर्जनशीले हुनुपर्नेमा जोड दिए । विद्यार्थीको प्रतिभा प्रस्फूटन गराउन विद्यालयले हर तरहले सहयोग गर्ने प्रतिबद्धता दाहालले बताए ।

