
पोखरा । दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटअन्तर्गत बुधबार भएको खेलमा चितवन राइनोज्ले पोखरा पल्टनलाई ६ विकेटले पराजित गरेको छ ।
पोखराले दिएको १०८ रनको लक्ष्य चितवनले १४ ओभर ५ बलमा ४ विकेट गुमाउँदै पूरा गरेको हो । पोखरा रंगशालमा चितवनलाई जित दिलाउन बाबर हायातले अर्धशतकीय पारी खेले । बाबरले १२ ओभरको तेस्रो बलमा अर्धशतक पूरा गरेका हुन् । उनले ३४ बलमा चार चौका तीन छक्का प्रहार गर्दै अर्धशतक पूरा गरेका थिए । बाबरले अर्धशतकसँगै नट आउट ६६ रन बनाए । त्यस्तै सन्नी पटेलले नट आउट २२ रन बनाएका हुन् ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १०७ रन बनाएको थियो । पोखराका कप्तान शरद भेषवाकर ४५ रन बनाउँदै आउट भए । आजको जितसँगै चितवनले एक खेलबाट दुई अंक जोडेको छ । पराजित पोखराको दुई खेलबाट दुई अंक छ ।
प्रतियोगिताअन्तर्गत बुधबार दुई खेल हुनेछन । पहिले खेलमा बिहान ९ बजे धनगढी ब्लुज र काठमाडौँ गोल्डेन्स खेल्ने छन्। यस्तै दिउँसो १२:४५ बजे विराटनगर टाइटन्स र पोखरा पल्टन्स आमनेसामने हुनेछन् ।
प्रतियोगितामा ६ सहरका ६ टोलीको सहभागिता छ । नेपाली क्रिकेटमा सर्वा्धिक पुरस्कार राशि रहेको प्रतियोगिताको विजेताले रु २७ लाख र उपविजेताले रु १० लाख पुरस्कार पाउने छन् । प्रतियोगिताका उत्कृष्ट तीन खेलाडीलाई मोटरसाइकल प्रदान गरिने आयोजकले जनाएको छ ।
यस्तै म्यान अफ दि सिरिज, उत्कृष्ट ब्याट्म्यान र उत्कृष्ट बलरलाई जगदम्बा मोटर्सले उपलब्ध गराउने टिभिएस मोटरसाइकल प्रदान गरिनेछ । प्रतियोगिताको ‘मोस्ट भ्यालुएबल’ खेलाडीलाई एक लाख र नमस्ते पोखरा प्रिमियर लिगको इमर्जिङ्ग खेलाडीलाई ५० हजार रुपैंया साथै प्रत्येक खेलमा नेपाल टेलिकम म्यान अफ दी म्याच हुने खेलाडीलाई १० हजार प्रदान गरिने छ ।
