दुई मिनेटको भिडियोमा हेर्नुस् इलाम !

Share:

इलाम। मुलुकको पछिल्लो राजनैतिक विभाजन अनुसार प्रदेश नम्बर एकमा पर्ने चौध जिल्लामध्ये इलाम एक हो । मुलुकको सुदूरपूर्वमा १७०३ वर्ग किलोमिटर क्षेत्र ओगटेको पहाडी जिल्ला इलामको उत्तरमा पाँचथर, दक्षिणमा झापा, पश्चिममा पाँचथर र मोरङ जिल्लाहरु अनि पूर्वमा भारतको पश्चिम बंगाल अन्तर्गत दार्जिलिङ्ग जिल्ला पर्दछ ।

समुद्री सतहबाट १४० मिटर उचाइको तराईदेखि उत्तरतिर चुरे पहाड, मध्यपहाड हुँदै ३६३६ मिटरको उच्च पहाडसम्म पुग्ने इलामे धर्तीमा उचाइ अनुसारकै विविध प्रकारको हावापानी पाइन्छ । त्यसैले इलाम जैविक विविधतामा पनि धेरै धनी छ । विभिन्न नगदे वालीका लागि चर्चित इलाम जिल्ला नेपालमा चियाको आदि थलो हो । इलाम बजारको पश्चिम उत्तरी भागमा रहेको चिया कमान नेपालको पहिलो संगठीत कृषि उद्योग हो ।

यहाँ रहेको चिया कारखाना नेपालको जेठो औद्योगिक कारखाना हो जसबाट बि. सं. १९३५ मा नै प्रशोधित चिया बजारमा ल्याइएको थियो । अलैंची, आलु, अम्लिसो, अदुवा, दूध, किबी फल र विभिन्न प्रकारका जडिबुटी उत्पादनका लागि कहलिएको इलाम हरित कृषिको जिल्ला हो ।

अत्यन्त आकर्षक र मनमोहक प्राकृतिक सुन्दरताले भरिपूर्ण इलाम नेपालकै उत्तम पर्यटकीय गन्तव्यमा पर्दछ । विविध जात जातिको बसोबास रहेको इलाममा प्राचिन मठ मन्दिर र गुम्बाहरु सांस्कृतिक धरोहरका रुपमा रहेका छन् । लेप्चा जातिको बसोबासो नेपालमा इलाम जिल्लामा मात्रै छ ।

कमेन्ट गर्नुहोस्
Share: