काठमाडौँद्वारा विराटनगरसामु १ सय ६० रनको लक्ष्य प्रस्तुत

Share:

पोखरा । पोखरामा जारी दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटमा अहिले विराटनगर टाइटन्स र काठमाडौँ गोल्डेन्स वारियर्स खेलिरहेका छन् । पोखरा क्रिकेट मैदानमा जारी खेलमा काठमाडौँले विराटनगरलाई १ सय ६० रनको लक्ष्य दिएको छ । ५ विकेटको क्षतिमा काठमाडौँले १ सय ५९ रन बनायो ।

टस जितेर ब्याटिङ रोजेको काठमाडौँका लागि जयकिशन कोल्सवालाले अर्धशतक बनाए । उनी ४३ बलमा ५५ रन बनाउँदै पवेलियन फर्किए । उनले ५ चौका र २ छक्का हाने । कप्तान ज्ञानेन्द्र मल्ले ३३ बलमा ४५ रन बनाए । उनले ३ चौका र २ छक्का प्रहार गरे । काठमाडौँका लागि अमित क्षेष्ठले १७ रन बनाए । १५ बल खेलेका उनले २ चौका र एक छक्का प्रहार गरे । ओपनिङ ब्याट्सम्यानको रुपमा मैदान प्रवेश गरेका गौरव तोमारले खाता खोल्न सकेनन् । एक ओभर खेलेका उनलाई किशोर महतोले आउट गराए ।

यस्तै सुवोध भाटी ९ बलमा १४ रन बनाउँदै आउट हुन पुगे । विराटनगरका लािग पुनित मेहराले २ विकेट लिए । यस्तै किशोर महतो र नोमन खानले समान एक÷एक विकेट लिन सफल भए । विराटनगरले केहि बेरमा ब्याटिङ सुरु गर्ने छ ।

ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौँले अहिलेसम्म तीन खेल खेल्दा दुई खेलमा पराजय व्यहोरेको छ भने एक खेल मात्र जितेको छ । यस्तै प्रदीप ऐरी कप्तानी रहेको विराटनगर टाइटन्सले दुई खेल खेल्दा एक खेल जितेको छ भने एकमा पराजित भएको छ ।

तीन खेलमा दुई अंक जोडेको काठमाडौँ अंक तालिकामा तेस्रो स्थानमा छ । दुई खेल खेलेको विराटनगर दुई अंकसहित चौँथो स्थनमा छ । काठमाडौँ पहिलो खेलमा पोखरा पल्टनसँग ९ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा बुटवल ब्लास्टर्ससँग सुपर ओभरमा पराजय व्यहोरेको काठमाडौँले तेस्रो खेलमा एक्सपर्ट धनगढी ब्लुजलाई १ सय ६ रनले हराएको थियो ।

दुवै टोली आजको खेल जितेर प्रतियोगितामा दोस्रो जीत दर्ता गर्न चाहान्छन् । अहिलेसम्मको खेलको नतिजा हेर्दा चितवन राइनोजले फाइनल खेल्ने पक्का छ । तीन खेल खेलेको चितवन अहिलेसम्म अपराजित छ । चितवन तीन खेलमा ६ अंक जोड्दै अंक तालिकको शीर्ष स्थानमा छ । तीन खेलमा दुई खेल जितेको बुटवल दोस्रो स्थानमा रहँदा चार खेलमा एक खेल जितेको घरेलु टोली पोखरा पल्टन पाँचौ स्थानमा छ । तीन खेल खेल्दा एक खेल मात्र जितेको धनगढी भने तालिकको पुछारमा छ । प्रतियोगितामा ६ सहरका ६ टोलीको सहभागिता छ ।

नेपाली क्रिकेटमा सर्वा्धिक पुरस्कार राशि रहेको प्रतियोगिताको विजेताले रु २७ लाख र उपविजेताले रु १० लाख पुरस्कार पाउने छन् । प्रतियोगिताका उत्कृष्ट तीन खेलाडीलाई मोटरसाइकल प्रदान गरिने आयोजकले जनाएको छ । यस्तै म्यान अफ दि सिरिज, उत्कृष्ट ब्याट्म्यान र उत्कृष्ट बलरलाई जगदम्बा मोटर्सले उपलब्ध गराउने टिभिएस मोटरसाइकल प्रदान गरिनेछ । प्रतियोगिताको ‘मोस्ट भ्यालुएबल’ खेलाडीलाई एक लाख र नमस्ते पोखरा प्रिमियर लिगको इमर्जिङ खेलाडीलाई ५० हजार रुपैंया साथै प्रत्येक खेलमा नेपाल टेलिकम म्यान अफ दी म्याच हुने खेलाडीलाई १० हजार प्रदान गरिने छ ।

टीम विराटनगर :

प्रदीप ऐरी, सुनिल धमला, लभ कमत, लोकेश बम, राजेश पुलामी, किशोर महतो, पुनित मेहरा, मुहम्मद जैद, जीतेन्द्र मुखिया, दीलिप नाथ, नोमन खान, राजु रिजाल, शाहब आलम, दिपेश श्रेष्ठ, मिनाश थापा र पुष्प थापा ।

टीम काठमाडौँ :

ज्ञानेन्द्र मल्ल, जयकिशन कोल्सवाला, आदिल खान, पृथु बास्कोटा, सुशन भारी, सिबोध भाटी, अमृत भट्टराई, सुवाश खकुरेल, वसन्त रेग्मी, अमर रौटेला, पवन शराफ, अमित श्रेष्ठ, सूर्य तमाङ, गौरव तोमार र नन्दन यादब ।

कमेन्ट गर्नुहोस्
Share: