अपराजित रहँदै चितवन राइनोज पीपीएलको फाइनलमा

Share:

पोखरा । चितवन राइनोज दोस्रो संस्करणको पोखरा प्रिमिएर लिग (पीपीएल) को फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको खेलमा काठमाडोँ गोल्डेन्सलाई ६० रनले पराजित गर्दै अपराजित चितवन फाइनल पुगेको हो। १ सय ६८ रनको विजयी लक्ष्य पछ्याएको काठमाडौँले केबल १ सय ७ रन बनाउन सक्यो ।

काठमाडोँको सुरुवात राम्रो हुन सकेन । ओपनरद्धय जयकिसन कोल्सवाला र अमित श्रेष्ठ खाता नखोली आउट हुन पुगे । कोल्सवाला करण केसीको सिकार बने भने श्रेष्ठ शन्नि पटेलको बलमा एलबिडब्लु आउट हुन पुगे । काठमाडौँका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ४० रन बनाए । ३९ बल खेलेका उनले ३ चौका र २ छक्का प्रहार गरे । उनलाई भुवन कार्कीले कप्तान पारस खड्काको हातबाट क्याच आउट गराए ।

गौरव तोमर ६ रन बनाएर पभेलिएन फर्किए । उनलाई रामनरेश गिरीले आउट गराएका थिए । पृथु बाँस्कोटाले १८ रन बनाए । उनी पारस खड्काको बलमा आउट भए । दिपेश श्रेष्ठले २ रन बनाए । उनी रोहन मुस्तफको बलमा शन्नि पटेलले क्याच गरे । बसन्त रेग्मीले खाता खोल्न सकेनन् । उनलाईसमेत रोहनले आफ्नो जालमा पारेका थिए ।

चितवनका लागि शन्नि पटेलले ४ विकेट लिँदा रोहन मुस्तफा २ विकेट लिए । करन केसि, पारस खड्का, रामनरेश गिरी, भुवन कार्कीले एक–एक विकेट हात पारे । यसअघि पोखरा क्रिकेट रङ्गशालामा टस हारेर पहिले व्याटिङ गरेको चितवनले ४ विकेटको क्षतिमा १६७ रन बनाएको हो ।

चितवनका लागि बाबर हायातले सर्वाधिक ७० रन बनाए । ४७ बल खेलेका उनले ३ चौका र ६ छक्काका साथ ७० रन बनाएका थिए । रोहन मुस्तफाले समेत अर्धशतक पुरा गरे । बल खेलेका उनले चौका र छक्का सहित रन बनाउन सफल रहे । मुस्तफा र हायातले ११९ रनको साझेदारी गरेका थिए ।चितवनका अर्का व्याट्सम्यान आरिफ शेखले १५ रन बनाए । उनलाई अमरसिंह रांंैटेलाले गौरभ तोमरका हातबाट क्याच आउट गराएका थिए । सन्नि पटेलले १३ रन बनाए ।

ओपनिङमा आएका करण केसीले केबल १ रन मात्र गराउन सके । ६ बल खेलेका उनी सुसान भारीको बलमा विकेटकिपर जयकिसन कोल्सवालाको हातबाट क्याच हुन पुगे । काठमाडौँका लागि सुसान भारी, बसन्त रेग्मी, अमरसिंह राउटेलाले समान १–१ विकेट लिए ।

जितसंगै चितवनको ५ खेलबाट १० अंक भएको छ । यस्तै दोस्रो स्थानको बुटवलको ४ खेलबाट ६ अंक छ। तेस्रो स्थानको काठमाडौंले ५ खेल खेल्दै ४ अंक जोडेको छ । मंगलबारको खेलमा पराजित भए पनि काठमाडौंको प्लेअफ सम्भावना कायम छ ।काठमाडौं प्लेअफ पुग्न बुधबारको खेल महत्वपूर्ण छ । बुधबार हुने विराटनगर टाइटन्स र बुटवल ब्लास्टर्सबीचको खेल हुँदैछ । बुधबारको खेलमा विराटनगर बुटवलसँग पराजित हुनुपर्छ ।

पोखरा पल्टन प्रतियोगिताबाट बाहिरिसकेको छ । पोखरासहित प्रतियोगितामा ६ सहरका ६ टोलीको सहभागिता छ । नेपाली क्रिकेटमा सर्वाधिक पुरस्कार राशि रहेको प्रतियोगिताको विजेताले रु २७ लाख र उपविजेताले रु १० लाख पुरस्कार पाउने छन् । प्रतियोगिताका उत्कृष्ट तीन खेलाडीलाई मोटरसाइकल प्रदान गरिने आयोजकले जनाएको छ ।

यस्तै म्यान अफ दि सिरिज, उत्कृष्ट ब्याट्म्यान र उत्कृष्ट बलरलाई जगदम्बा मोटर्सले उपलब्ध गराउने टिभिएस मोटरसाइकल प्रदान गरिनेछ । प्रतियोगिताको ‘मोस्ट भ्यालुएबल’ खेलाडीलाई एक लाख र नमस्ते पोखरा प्रिमियर लिगको इमर्जिङ खेलाडीलाई ५० हजार रुपैंया साथै प्रत्येक खेलमा नेपाल टेलिकम म्यान अफ दी म्याच हुने खेलाडीलाई १० हजार प्रदान गरिने छ ।

कमेन्ट गर्नुहोस्
Share: