क्रिसमसको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीले दिए शुभकामना

Share:

काठमाडौं । क्रिसमसको अवसरमा राष्ट्रपति विद्या भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओलीले छुट्टाछुट्टै शुभकामना सन्देश दिएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले इसाई धर्मालम्बीहरुको महानपर्व ‘क्रिसमस डे’ का अवसरमा आज एक शुभकामना सन्देश दिँदैै स्वदेश तथा विदेशमा रहेका इसाई धर्मावलम्बी नेपाली सबैको सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गरेकी हुन् ।

‘क्रिसमस डे’लगायतका पर्वले विभिन्न समुदायबीच सद्भाव र समन्वय अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको राष्ट्रपति भण्डारीले बताएकी छन् । उनले क्रिसमसले सबै नेपालीबीच बन्धुत्व, आपसी प्रेम र एकताको भावना बढाएर शान्त र समुन्नत नेपाल निर्माण गर्न प्रेरणा प्रदान गर्ने कामना पनि गरेकी छन् ।

नेपाल बहुसांस्कृतिक विशेषतासहित सुदृढ सामाजिक एकता कायम भएको मुलुक भएको भन्दै बहुमूल्य सम्पदाको रुपमा रहेका चाडपर्व र संस्कृतिको संरक्षण एवं संवद्र्धन गर्नु हामी सबैको साझा दायित्व भएको उल्लेख छ । ‘बहुमूल्य सम्पदाको रूपमा हाम्रा विभिन्न चाडपर्व र संस्कृति रहेका छन् । तिनको संरक्षण सबैको साझा दायित्व हो’, राष्ट्रपतिले सन्देशमा भनेकी छन् ।

यस्तै, उपराष्ट्रपति नन्दबहादुर पुनले क्रिसमस डेका अवसरमा देश–विदेशमा रहेका नेपालीलाई शुभकामना दिँदै करकाप र प्रलोभनमा पारेर धर्म परिवर्तन नगराउन सबैमा आग्रह गरेका छन् ।

पछिल्लो समयदेखि क्रिश्चियन धर्मालम्बीमाथि आफ्नो धर्ममा तान्न नागरिकहरूलाई प्रलोभन देखाउने गरेको आरोप लाग्दै आइरहेको छ । यसैतर्फ संकेत गर्दै उपराष्ट्रपति पुनले त्यसो नगर्न आग्रह गरेका छन् । संविधानले सबै प्रकारका धर्म संंस्कृतिप्रति आस्था राख्न र त्यसको संरक्षण एवं सम्बद्र्धन गर्न पाउने अधिकार दिएकाले त्यसको मर्मविपरीत उभिन नहुने उपराष्ट्र पुनको तर्क छ ।

त्यस्तै प्रधानमन्त्री ओलीले शुभकामना सन्देश दिदैं प्रधानमन्त्री ओलीले नेपाल बहुधार्मिक, बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषतायुक्त सुन्दर देश भएको बताएका छन् । विभिन्न धर्म र संस्कृतिमा आधारित यस्ता पर्वहरु हाम्रो राष्ट्रिय एकता, पारस्परिक सद्भाव र सहिष्णुताका मौलिक पहिचान हुन् ।

नेपालको संविधानले धार्मिक स्वतन्त्रता र भाषा तथा संस्कृति सम्बन्धी विषयलाई मौलिक हकको रुपमा सुनिश्चित गरेको छ, शुभकामना सन्देशमा उल्लेख छ ।

कमेन्ट गर्नुहोस्
Share: