पोखरा, मंसिर १४ गते । कास्कीका सञ्चार प्रतिष्ठानका सञ्चालकहरुसँग नेपाल पत्रकार महासंघ कास्की शाखा अन्तर्गत श्रमजीवी पत्रकार ऐन कार्यान्वयन तथा अनुगमन समिति बीच छलफल भएको छ । छलफलमा सहभागी सञ्चालकहरुले सञ्चार प्रतिष्ठानहरुको वर्तमान अवस्था र श्रमजीवी ऐन कार्यान्वयनका विषयमा आआफ्नो संस्थाको बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रुद्र भट्टले श्रमजीवी पत्रकार ऐन कार्यान्वयन नगर्ने सञ्चार माध्यमले राज्यले पाउने सुविधा पनि रोक्न सरकारलाई दवाव दिईने बताए । त्यसैगरी अर्का केन्द्रीय सदस्य शुष्मा पौडेलले श्रमजीवी पत्रकारहरुको पीडालाई मिडिया सञ्चालकहरुले राम्रोसँग बुझेकोले ऐन कार्यान्वयनमा सहयोग गर्न आग्रह गरिन् ।
त्यसैगरी कास्की शाखाका सल्लाहकार बद्री बिनोद प्रतिकले सूचना केन्द्र र प्रेस काउन्सिलमा वर्गीकरणमा परेका पत्रपत्रिकाहरुले पठाउने गरेको बिवरण र यहाँको वास्तविकतालाई हेर्ने हो भने सबै कुरा बाहिर आउने दावी गरे । त्यसैगरी आदर्श समाज राष्ट्रिय दैनिकका प्रकाशक तथा सम्पादक कृष्णप्रसाद बाँस्तोलाले आफ्नो संस्थाले श्रमजीवी पत्रकार ऐन पालना गरेको बताए । प्रकाशक बाँस्तोलाले भने—८।१० बर्षदेखि कार्यान्वयन गरेका छौं तर पूर्णरुपमा भने छैन ।
त्यसैगरी हिमदूत राष्ट्रिय दैनिकका प्रकाशक तथा सम्पादक रवीन्द्र बाँस्तोलाले मोफसलका मिडियामा श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गरियो भने पत्रिका बाँच्न सक्ने स्थिति नरहे पनि अन्य जिल्लाको तुलनामा कास्कीको स्थिति सन्तोषजनक रहेको बताए । श्रमजीवी पत्रकार ऐन कार्यान्वयन हुन्छ जस्तो लाग्दैन भन्दै प्रकाशक बाँस्तोलाले यो ऐन कमजोर पत्रकारलाई बचाउन ल्याइएको टिप्पणी गरे ।
थ्री एन्जल्स एफएमका स्टेशन म्यानेजर गणेशकुमार श्रेष्ठले श्रमजीवी पत्रकार ऐन पूर्ण रुपमा पालना गरिएको दावी गरे । बैंक मार्फत् सबै कर्मचारीलाई तलब महिना पुरा हुने बित्तिकै दिने गरेको र अन्य सुविधाहरु पनि संस्थाको नियमानुसार पाउने गरेको बताए ।
गण्डकी मिडिया हाउसबाट प्रतिनिधित्व गर्दै गोमा घिमिरेले पोखरामा सञ्चारमाध्यमहरुमा जागिर दिने बेलामा नेपाल पत्रकार महासंघ कास्की शाखामा उजुरी गर्ने छैन भन्ने शर्त पहिलो हुने गरेकोमा खेद व्यक्त गरिन् । अहिलेसम्म पनि गण्डकी खबर राष्ट्रिय दैनिकले श्रमजीवी पत्रकारहरुलाई नियुक्ति पत्र दिन नसकेको पनि उनले स्वीकार गरिन् ।
बाराही एफएमका सञ्चालक रमेश पौडेलले मिडियामा अब रहर र बाध्यताले काम गर्न नहुने भन्दै क्षमता अभिवृद्धि गरेर दक्ष भएर पत्रकारहरु यो क्षेत्रमा आउनु पर्ने धारणा व्यक्त गरे । श्रमजीवी ऐन कार्यान्वयन भएको दावी गर्दै सञ्चालक पौडेलले राज्यले पनि एफएम सञ्चालकहरुलाई सेवा सुविधा थप गर्नुपर्ने माग गरे ।
त्यसैगरी रेडियो तरङ्गका स्टेशन म्यानेजर हिमनिधि लौडारीले नेतृत्वमा बसेका साथीहरुले आफ्नै मिडिया हाउसबाट श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गरेर अभियान शुरु गर्नुपर्ने सुझाव दिए । आरसी टाइम्सका प्रकाशक रामचन्द्र बरालले सामानुपातिक विज्ञापनको नीति लागू हुने हो भने यो समस्या हटेर जाने विश्वास व्यक्त गरे । आप्mनो पत्रिकामा श्रमजीवी पत्रकार ऐन कार्यान्वयन भएको बताउँदै प्रकाशक बरालले सञ्चारगृह सबल रुपमा अघि बढिरहेको दावी गरे ।
पोखरा एक्सप्रेसका प्रकाशक रामजी लम्सालले आफ्नो संस्थामा श्रमजीवी ऐन लागू गर्ने प्रयास गरिएको तर पूर्ण रुपमा नसकिएको स्वीकार गरे । श्रमजीवी ऐन कार्यान्वयन गर्ने विषय चुनावी नारा मात्र बनेको बताउँदै अहिलेको अभियान पनि श्राद्ध र कर्मकाण्ड पुरा गरे जस्तो नहोस् भन्ने सुझाव समेत दिए ।
प्रेस चौतारी कास्कीका अध्यक्ष श्याम कुँवरले श्रमजीवी पत्रकार ऐन कार्यान्वयनको पहिलो पाईला पदाधिकारीहरुले आफ्नो सञ्चारगृहबाट देखाउन चूनौती समेत दिए । श्रमजीवी ऐन कार्यान्वयन भएमा सञ्चालक र श्रमजीवी दुवैलाई फाईदा हुने धारणा अध्यक्ष कुँवरको थियो । कास्की आवाज राष्ट्रिय दैनिकका अध्यक्ष सरस्वती गुरुङले अधिकार खोज्नेले कर्तव्य पनि पुरा गर्नुपर्ने बताउँदै श्रमजीवी ऐन भन्दा पनि व्यवहारिक रुपमा संस्था चलिरहेको बताईन् ।
श्रमजीवी पत्रकार ऐन कार्यान्वयन तथा अनुगमन समितिका संयोजक राजेन्द्र अधिकारीले दोस्रो चरणमा श्रमजीवी पत्रकारहरुसँग छलफल गर्ने र त्यसपछि अनुगमन शुरु गरिने जानकारी दिए । यस अघि भएको अनुगमनमा देशव्यापीरुपमा मकवानपुर बाहेक अन्य जिल्लाले प्रतिवेदन सार्वजनिक गर्न नसकेको अवस्थामा कास्कीमा शुरु भएको अनुगमनको प्रतिवेदन सार्वजनिक हुने पनि संयोजक अधिकारीले दावी गरे ।
कार्यक्रममा फेवा पोष्ट साप्ताहिकका प्रकाशक नबराज सुवेदी, गन्थन डटकमका सञ्चालक सागरराज तिमिल्सिना, क्रियाशिल पत्रकार महिला समूहकी सरिता तिमिल्सिना, परिज्ञान साप्ताहिककी प्रकाशक तथा सम्पादक ईश्वरी पौडेल, हिमाली आवाज साप्ताहिकका कृष्ण दवाडी, रेडियो हेम्जाका सञ्चालक अर्जुन त्रिपाठी लगायतले आआफ्नो संस्थामा श्रमजीवी ऐन कार्यान्वयन भए नभएको अवस्थाका बारेमा जानकारी गराएका थिए ।
