पोखरा जेसीजको अध्यक्षमा छवि सुवेदी

Share:

रञ्जन अधिकारी पोखरा, १४ मंसिर / युवाको नेतृत्व तथा क्षमता विकासमा पोखरामा ४० वर्षदेखि क्रियाशील संस्था पोखरा जेसीजको सन् २०१५ को अध्यक्षमा छवि सुवेदी निर्वाचित भएका छन् ।  विभिन्न क्षेत्रका १८ देखि ४० वर्ष उमेर समूहका एक सय बढि युवा सदस्य रहेको पोखरा जेसीजको शनिबार अबेर सम्पन्न ३५ औं अधिवेशन तथा ४० औं वार्षिक साधारणसभाले सुवेदीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

सुवेदीले अध्यक्षका प्रत्यासी शिवप्रसाद कोईरालालाई २५ मतले पछि पार्दै नेतृत्वमा पुगेका हुन् । सुवेदीले ६१ र कोईरालाले ३६ मत प्राप्त गरेका थिए । अघिल्लो वर्ष सुवेदी निवर्तमान अध्यक्ष तिलकराम पौडेलसँग मत बराबरी भएपनि लक्की ड्रबाट हारेका थिए ।

1045_650764791623218_806162009_n

यस्तै, कार्यकारी उपाध्यक्षमा तीन जना आकांक्षी बनेकोमा शिव सुवेदी र गणेश गिरीले दाबेदारी छाडेपछि किरण केसी सर्वसम्मत चुनिए । चार उपाध्यक्षका लागि छ जनाको उम्मेदवारी परेकोमा नविन थापा, शिवराज घिमिरे, सुवास सुवेदी र दुर्योधन खड्का निर्वाचित भए भने युवराज पौडेल र नारायण खनाल बाहिरिए ।

चार निर्देशकमा अर्पण पौडेल, अनन्त प्रधानाङ्ग, यज्ञपुरुष रिजाल र छवि पौडेल सर्वसम्मत चुनिए । एक सय ३ मतदाता रहेकोमा ९७ मत खसेको निर्वाचन आयुक्त तथा पूर्व अध्यक्ष सन्तोष पोखरेलले जनाए । अधिवेशन मर्यादित रुपमा सम्पन्न भएको अधिवेशन निर्देशक एवं पूर्व अध्यक्ष विष्णुबहादुर थापाले जानकारी दिएका छन् ।

अध्यक्ष सुवेदीले मनोनित पदहरुमा कानुनी सल्लाहकारमा गोविन्दप्रसाद देवकोटा, महासचिवमा शालिग्राम गिरी, कोषाध्यक्षमा अमृत बास्तोला र सचिवमा धनबहादुर शाही (सन्तोष) लाई मनोनित गरेका छन् । यस्तै प्रकरण निर्देशकमा मिनराज खड्का, वृद्धि सभापतिमा शिव सुवेदी तथा शाखा सम्पादकमा छवि पनेरु चयन गरेका छन् । अन्य पदहरु शीघ्र बैठक बसी पूर्ति गरिने उनले बताए ।

नवनिर्वाचित अध्यक्ष सुवेदीले १३ वर्षपछि गत वर्ष निरन्तरता पाएको मिस पोखरा ईभेण्ट यो वर्ष हुन नसकेपनि अर्को वर्षदेखि निरन्तरता दिने बताए । यस्तै, रानीपौवा स्थित पोखरा जेसीजको भवनमा तल्ला थपेर सार्वजनिक पुस्तकालयका लागि पहल गर्ने उनको योजना छ ।

यसअघि, साधारणसभाको उद्घाटन गर्दै पश्चिमाञ्चल क्षेत्रीय प्रशासक दिनेश थपलियाले पोखरा जेसीजजस्ता संस्थाहरु विकास निर्माण कार्यमा सरकारी निकायसँग समन्वय गरी अघि बढेकोमा खुशी व्यक्त गरे । उनले युवाहरु विदेश पलायन भएकोमा चिन्ता व्यक्त गर्दै यसरी नै एकताबद्ध भएर सामाजिक कार्यमा सक्रिय रहन आग्रह पनि गरे ।

विशेष अतिथि नेपाल जेसीज कार्यकारीणि उपाध्यक्ष संगीता पौडेलले युवाहरु सकारात्मक सोचका साथ सामाजिक कार्यमा लाग्नुपर्ने बताईन् । कार्यक्रममा म्याग्दी जेसीजका अध्यक्ष बबिन बगदास, लेखनाथ जेसीजका अध्यक्ष सञ्जय भट्टराई, पोखरा उद्योग वाणिज्य संघका तर्फबाट ईश्वर कर्माचार्य लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यकारिणी उपाध्यक्ष गोविन्दप्रसाद देवकोटाले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव गणेश गिरीले तथा धन्यवाद ज्ञापन शाखा सम्पादक देवराज शर्माले गरेका थिए।

पोखरा जेसी वर्ष २०१४ का अध्यक्ष तिलकराम पौडेलको अध्यक्षतामा भएको साधारणसभाको बन्दसत्रमा महासचिव धर्मराज अर्याल, कोषाध्यक्ष किरण केसी, कार्यकारिणी उपाध्यक्ष गोविन्दप्रसाद देवकोटाले आ–आफ्ना प्रतिवेदन प्रस्तुत गरेका थिए । सर्वोत्कृष्ट नव सदस्य अवार्डबाट डा. नवराज लम्डारी, नारायण लक्ष्मी उत्कृष्ट सदस्य अवार्ड अर्पण पौडेल, उत्कृष्ट बोर्ड मेम्वर अवार्ड गणेश गिरी, मिलेर गरौं अवार्ड नवराज तिवारीलाई प्रदान पनि गरिएको थियो । सोहि अवसरमा पूर्व अध्यक्षहरुसँग अन्र्तक्रिया, पदका आकांक्षीहरुसँग अन्तक्र्रिया कार्यक्रम पनि भएका थिए ।

कमेन्ट गर्नुहोस्
Share: