शुरु भयो ‘स्ट्रिट फेस्टिबल’, पोखरालाई आन्तरिक विमानस्थलको हब बनाउछौँ : मन्त्री भट्टराई

Share:

पोखरा । पोखरामा २१ औं संस्करणको सडक महोत्सव (स्ट्रिट फेस्टिबल) शुरु भएको छ । ‘सडकमै खाऔं, सडकमै रमाऔं’ भन्ने नारासहित लेकसाइडको तीन किलोमिटर क्षेत्रमा महोत्सव शुरु भएको हो । पुष १६ गतेसम्म चल्ने महोत्सवका लागि लेकसाइड क्षेत्र पूरै सझिएको छ ।

अंग्रेजी नयाँ वर्षको अवसर पारेर हरेक वर्ष रेष्टुरेन्ट एण्ड बार एशोसिएशन (रेबान) ले आयोजना गर्दै आएको महोत्सव अवलोकन गर्न विभिन्न ठाउँबाट दर्शकहरु पोखरा आउने गरेका छन् ।

महोत्सवको संघीय सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले उद्धघाटन गरेका छन् । शनिबार आयोजित एक भव्य समारोहका बीच महोत्सवको उद्धघाटन गर्दै उनले रत्नमन्दिर र हिमा गृहलाई पर्यटकीय गन्तब्यको रुपमा विकास गर्न सरकारले नेपाल ट्रस्टको कार्यालयलाई पत्राचार गरिसकेको जानकारी दिए ।

पोखरालाई आन्तरिक विमानस्थलको हब बनाउने बताउँदै उनले पर्यटकीय पूर्वाधार विकासमा पोखरेली लाग्नुपर्नेमा जोड दिए । पोखराको पर्यटन र भ्रमण वर्ष–२०२० को प्रवर्धनका लागि नेपालकै ठूलो महोत्सव मध्येको सडक महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने आयोजकको दाबी छ । आयोजकका अनुसार यो सडक क्षेत्रमा खानेकुराका विभिन्न परिकारका स्टलहरु रहेका छन् ।

महोत्सवमा नेपालका विभिन्न कला संस्कृति झल्कने प्रदर्शनी, साँस्कृतिक कार्यक्रम, हस्तकला प्रदर्शनी, मनोरञ्जनात्मक खेलकुद कार्यक्रम, बालउद्यान, लाइभ कन्सर्ट, लोक दोहोरी रहेको रेबानका अध्यक्ष भीमसेन भुजेलले जानकारी दिए । महोत्सवमा सुरक्षालाई मध्येनजर गरेर सिसि क्यामरा पनि जडान गरिएको छ । महोत्सव हुने ३ किलोमिटर क्षेत्रमा ४ वटा स्टेज राखिने छन् । त्यहाँ विभिन्न साँस्कृतिक प्रस्तुती देखाइने छ ।

रत्न मन्दिर खुलाउने तयारी

भ्रमण वर्ष २०२० को उद्घाटन पनि महोत्सव स्थलबाट गर्ने गरी तयारी भईरहेको छ । भ्रमण वर्षका अवसरमा पोखराको गौरीघाटमा रहेको शाही राजाको दरबार रत्न मन्दिर खुलाउने तयारी छ । भ्रमण वर्षको मुख्य आकर्षणका रुपमा रहने दाबीसहित खुलाउने बताइएको सो दरबार खुल्छ वा खुल्दैन भन्ने पनि अन्योल नै छ ।

एक कार्यक्रममा नेपाल ट्रष्टको मातहतमा रहेको सो मन्दिर खुलाउने प्रदेशका पर्यटन मन्त्री विकास लम्सालले बताएका थिए । सो ऐतिहासिक दरबार खुलाउन उनी तातिरहेका छन् । खुलाउने विषयमासम्बद्ध सबै पक्षसँग भएको छलफल सकरात्मक रहेको अध्यक्ष भुजेलले बताए । ‘रत्न मन्दिर खुलाउने विषयमा प्रदेशका पर्यटन मन्त्री सकरात्मक हुनुहुन्छ । उहँको पहलमा हामीले छलफल पनि ग¥यौँ । खुलाउने विषयमा सहमति जुटेको छ,’ उनले भने ।

यता गण्डकी प्रदेश सभा सदस्य राजीव पहारीले भने रत्न मन्दिर अङ्ग्रेजी नयाँ वर्षका दिन नखोलिने बताएका छन् । शनिबार उद्धघाटन समारोहलाई सम्बोधन गर्दै उनले जनवरी १ मा नभई माघ १ बाट खोलिने बताए । पर्यटन क्षेत्रको विकासका लागि पहल गर्दै आएका सांसद पहारीले रत्नमन्दिरको भौतिक पुर्वाधार विकासका लागि आफूले सांसद कोषबाट २५ लाख रुपैयाँ बजेट विनियोजन गरेको सो अवसरमा जानकारी गराए ।

‘जसरी हुन्छ हामीसम्म खबर पु¥याउनुस’

सडक महोत्सवको समयमा खानेकुराको मूल्य र होटल भाडालाई लिएर हरेक वर्ष विवाद हुने गरेको छ । समस्या समाधान गर्न आयोजकले पहल नगरेको भने होइन । प्रयास हँदै आएको भने पनि खासै प्रभाव देखिएको छैन ।

यसपटक यो विषयमा आफूहरु निकै गम्भीर रहेको आयोजकको भनाइ छ । महोत्सवका सह–संयोजक नरेश भट्टराईले ठगी गर्नेमाथि निगरानी गर्ने र कारबाही गरिने बताएका छन् । पर्यटकसँग मूल्य बढी लिएरनलिएको बारे अनुगमन गर्न अनुगमन समिति नै बनाइएको छ ।

आयोजकले खानेकुरा र होटल भाडा बढी लिएको पाए खबर गर्न पर्यटकलाई आग्रह गरेको छ । आफूहरुलाई सम्पर्क गरेर उजुरी दिने माध्यमको बारेमा जानकारी गराउने आयोजकले व्यवस्था मिलाएको छ ।

अनुमति प्राप्त होटलले राखेका स्टलमा मूल्य सूचि रहेकाे र त्यो हेरेर सेवा लिन अध्यक्ष भुजेलको आग्रह छ । दर्शकलाई आग्रह गर्दै उनले भने, ‘त्यहाँ मूल्य सूचि हुन्छ, त्यही हेरेर सेवा लिनुस । तोकिएको भन्दा बढी लिए जसरी हुन्छ हामीसम्म खबर पु¥याउनुस ।’ स्वइच्छा महोत्सव क्षेत्रमा स्टल राख्न पनि प्रतिबन्ध लगाइएको छ ।

सडकपेटीमा स्टल राख्नका लागि आयोजक संस्थाको सदस्य हुनुपर्ने छ । महोत्सव स्थलमा १३ वटा होटल रेबानमा संलग्न छन् । ‘यो पटक त्यो अवस्था आउँदैन । हामीले निश्चत मूल्य सूची राखिदिन्छौँ,’ महोत्सवमा ठगी हुने गरेको स्वीकार गर्दै सहसंयोजक भट्टराईले भने, ‘यो पटक तोकिएकोभन्दा बढी मूल्य लिएको प्रमाणसहित उजुरी परे कारबाही गर्छौं ।’

होला त आतिसबाजी ?

महोत्सवको आकर्षणको रुपमा आतिसबाजीलाई लिने गरिएको छ । तर आतिसबाजी हुन्छ वा हँदैन भन्नेमा स्वयम आयोजक नै अन्योलमा छ ।
सरकारसँग अनुमति मागिएको र अनुमति प्राप्त भए यस वर्ष आतिसबाजी गरिने सहसंयोजक नरेश भट्टराईले दुई दिन अगाडि आयोजित पत्रकार सम्मेलनमा बताएका थिए ।

‘हालै मात्र सागमा आतिसबाजी गरेको सबैले देख्यौँ, त्यसैले पनि हामीलाई आतिसबाजीका लागि अनुमति प्राप्त हुने विश्वास छ,’ उनले भनेका थिए, ‘अनुमति प्राप्त भए आतिसबाजी हुन्छ ।’

आतिसबाजी हुने दिन आउँदासम्म पनि आयोजकले सोहि कुरा दोहो¥याएको छ । रेबानका अध्यक्ष भीमसेन भुजेलले शनिबार बिगखबरसँगको कुराकानीमा अहिलेसम्म अनुमति प्राप्त नभएको र पहल भईरहेको जानकारी दिए । सोमबारसम्म पनि अनुमति नपाए यो वर्ष पनि आतिसबाजी हुने सम्भावना निकै कम देखिन्छ ।

सम्पदा एवं पर्यावरण संरक्षण र समग्र प्राणी जगतको भलाइका लागि भन्दै गएको वर्ष अदालतमा मुद्दा दायर भएको थियो । मुद्दा बारे फैसला सुनाउँदै उच्च अदालत पोखराले सडक महोत्सवमा नयाँ बर्षमा आतिसबाजी नगर्न अन्तरिम आदेश जारी गरे पछि आतिसबाजी गरिएको थिएन ।

नयाँ वर्षको सुरुवातको संकेतको रुपमा रातको ठीक १२ बजे आतिसबाजी गर्ने गरिन्छ । सुरक्षा व्यवस्था बलियो बनाएर मनोरन्जनका लागि आतिसबाजी गरिने आयोजकले बताएको छ ।

कमेन्ट गर्नुहोस्
Share: