
पोखरा,१४ मंसिर । झण्डै साडे १८ करोडको कारोवार गर्दै पोखराको नयाँबजारमा जारी राष्ट्रिय औद्योगिक ब्यापार मेला–२०७१, पोखरा आइतबार सकिएको छ । मंसिर ४ गतेबाट सुरु भएको मेलामा २ लाख ९८ हजार जनाले अवलोकन गरेको आयोजक पोखरा उद्योग बाणिज्य संघका महासचिव रविन्द्रबहादुर प्रजुले जानकारी दिएका छन् । उनले मेला सोचेभन्दा बढी सफल भएको प्रतिक्रिया दिए ।
लगानीको सम्वद्र्धन ः उद्योग व्यवसायको प्रवद्र्धन भन्ने नाराका साथ आयोजित मेलामा स्थानीय उत्पादन, औद्योगिक तथा व्यापारिक , हस्तकला, कृषि, पूष्प , अटो, सूचना तथा प्रविधिहरु, विभिन्न सरकारी तथा गैह्र सरकारी संघ संस्थाहरुको गतिविधीहरुको प्रदर्शनी , स्थानीय कला र सस्कृति झल्कने स्टल लगायत दैनिक उपभोग्य वस्तु ,घरायसी सरसामान, लत्ताकपडा, श्रृंगारका सामानहरुसहितका २ सय ९५ वटा स्टल रहेका थिए । मेला र महोत्सवमार्फ अर्थतन्त्र चलायमान बनाउने उदेश्यमा मेला समर्पित थियो ।
संघले सामाजिक उत्तरदायित्व बहन गर्दै मेलाको प्रवेश टिकट बिक्रीबाट प्राप्त रकमबाट विगतका वर्षहरुमा थालिएको पोखरामा दमकल खरिदका लागि २ रुपैयाँ, बालश्रम न्यूनिकरण कार्यक्रमको १ रुपैयाँ र समग्र पोखराको विकासका लागि २ रुपैयाँ छुट्याएको संघका अध्यक्ष विन्दुकुमार थापाले जानकारी दिए । दलमक खरिदको लागि संघले हालसम्मका मेलाबाट करीब १५ लाख जम्मा गरेको छ । पोखराको विकासको लागि छुट्याइएको रकम भने आवश्यकता हेरी पोखराको विकासको जुनसुकै परियोजनामा पनि खर्च गरिने उनले जनाए ।
मेलाको अवसरमा संघले पोखराको योजनावद्ध विकासको लागि योगदान पु¥याउने अञ्चलाधीश शंकरराज पाठक र तत्कालीन पोखरा नगर योजनाका योजनाकार पदमबहादुर क्षेत्रीलाई सम्मान गरी आर्थिक सम्वृद्धिका लागि काम गर्ने व्यक्तिलाई सम्मान गर्ने नयाँ परम्पराको थालनी पनि ग¥यो । यसैगरी मेलाको समापनको अवसरमा संघले मेलामा राखिएका विभिन्न समूहमा उत्कृष्ट स्टलहरुलाई पुरस्कृत पनि ग¥यो ।
आयोजकका अनुसार उद्योगतर्फको स्टलमा द केक सप, ब्यवसायमा राजा ग्लास हाउस, अटोतर्फ दीपलक्ष्मी ब्राइट इन्टरनेसनल प्रा. लि., हस्तकलामा महिला सीप विकास आयोजना, रेष्टुरेण्टमा सगुन बेंक्यूट र कृषिमा बुद्ध फलफूल तथा नर्सरी उत्कृष्ट हुन सफल भए । संघमा पूर्व अध्यक्ष तथा सल्लाहकार राजेन्द्रकुमार लालचनको संयोजकत्वको मूल्याङ्कन समितिले ति स्टलहरुलाई उत्कृट चयन गरेको हो । विजयीहरुलाई मेला समापन कार्यक्रमका प्रमुख अतिथी उद्योगमन्त्री महेश बस्नेतले मायाको चिनो तथा प्रमाणपत्र प्रदान गरे ।
मेलाको समापन गर्दै उद्योगमन्त्री बस्नेतले व्यवसायीक वातावरण निर्माणको लागि सरकार प्रतिवद्ध रहेको बताए , उनले औद्योगिक सुरक्षा ऐन, विदेशी लगानी ऐन,प्रविधी हस्तान्तरण ऐन लगायतका २ दर्जन ऐनहरु निर्माणको अन्तिम चरणमा पुगेको जानकारी दिए । उनले उद्योग र घरेलु विभागलाई एउटै बनाउने, औद्योगिक सूचना प्रवाहको लागि छुट्टै संयन्त्र निर्माण तथा हरेक विकास क्षेत्रमा खानी विभागको शाखा खोल्न लागेको जानकारी पनि दिए । ‘ हामी देशमा पानी मात्र हैन, खानी पनि छ भन्ने सन्देश दिन चाहन्छौँ ।’– उनले थपे । पोखराको औद्योगिक क्षेत्र सानो भएकोले कास्कीकै लेखनाथमा झण्डै ७ सय रोपनी जग्गामा नयाँ औद्योगिक क्षेत्र बनाउने तयारी भएको जानकारी दिए ।
कार्यक्रममा बोल्दै नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले देशमा स्थिरता र समयमै संविधान निजी क्षेत्रको चाहना भएको बताए । कार्यक्रम तथा पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष विन्दुकुमार थापाले औद्योगिक वातावरण निर्माणका लागि विभिन्न २ दजर्न ऐनहरु लागु हुनुपर्ने, उर्जा संकट समाधानको लागि सरकाले तत्काल कार्यक्रम ल्याउनुपर्ने, पर्यटन उद्योगलाई अन्य उद्योग सरह मान्यता दिनुपर्ने, पोखराको औद्योगिक क्षेत्रमा रहेको औद्योगिक क्षेत्रको उचित व्यवस्थापनसहित नयाँ औद्योगिक क्षेत्रको व्यवस्था हुनुपर्ने लगायतका विषयहरुबारे उल्लेख गर्दै मेला सफल बनाउन सघाउने सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।
कार्यक्रमममा सभासद रविन्द्र अधिकारी, पोखरा उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष राजेन्द्रकुमार लालचन, एमाले कास्कीका अध्यक्ष कृष्ण थापा, लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष बाबुराम गिरी, मेलाको मूख्य प्रायोजक राष्ट्रिय बाणिज्य वैंकका पश्चिमाञ्चल क्षेत्रीय प्रबन्धक सिए देवेन्द्ररमण खनाल, सहप्रायोजक हेल्लो नेपालपका चिफ मार्केटिङ अफिसर अधिर खतिवडा, प्याब्सन कास्कीका अध्यक्ष चिनु रानाभाट, उत्कृष्ट स्टलको तर्फबाट दीपलक्ष्मी ब्राइट इन्टरनेसनलका राजेन्द्र बाटाजु, पोखरा उद्योग बाणिज्य संघका द्धितीय उपाध्यक्ष मीनराज काफ्ले, महासचिव रविन्द्रबहादुर प्रजु लगायतले मन्तब्य राख्नुभएको थियो ।
पोखरा उद्योग वाणिज्य संघ तथा नेपाल उद्योग बाणिज्य महासंघको आयोजना एवं पोखरा उपमहानगरपालिका, पोखरा उपत्यका नगर विकास समिति, जिल्ला विकास समिति कास्कीको सहयोग, नेपाल पर्यटन वोर्डको प्रवद्र्धन तथा राष्ट्रिय बाणिज्य वैंकको मूख्य प्रायोजन एवं हेल्लो नेपालको सहप्रायोजनमा मेला आयोजना गरिएको हो ।
तस्बीर : बिन्दुकुमार थापाको फेसबुक बाट

