
म्याग्दी । हिमाली पारिको जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक चार दिनपछि सञ्चालनमा आएको छ। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ मा पर्ने गुइँठेभिरमा सुक्खा पहिरो खसेपछि पुस ११ गतेदेखि अवरुद्ध भएको सडक सोमबार साँझदेखि सञ्चालनमा आएको हो।
पहिरो पन्छाएर मर्मत गरेपछि ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा सिधा यातायात सञ्चालन हुन थालेको हो । सडक अवरुद्ध हुँदा देशका विभिन्न ठाउँबाट बेनी हुँदै मुस्ताङ जान हिँडेका र मुस्ताङ हुँदै बेनीतर्फ छुटेका सवारी साधन बीच बाटोमै रोकिएका थिए।
यसैबीच बेनी–जोमसोम सडकमा दैनिक आठ घण्टा सवारी रोकिने भएको छ। स्तरोन्नतिका लागि सवारी रोकेर सडक विस्तारको काम गर्न लागिएको हो।बिहान ७.३० देखि ११ र दिउँसो २.३० देखि साँझ ६ बजेसम्म सवारी रोकिने आयोजना प्रमुख मुकुन्द अधिकारीले बताए।
म्याग्दीको गलेश्वरदेखि नारच्याङ पुलसम्मको प्याकेज एकमा सडक फराकिलो बनाउने, पर्खाल लगाउने र नाली बनाउने तथा ग्रेड मिलाउने काम भइरहेको छ। प्याकेज २, ३ र ४ खण्डमा पहाड काट्ने, फराकिलो बनाउने र पर्खाल निर्माण भइरहेको छ।
विसं २०७४ मा भएको ठेक्का सम्झौताको म्याद मङ्सिरमा सकिएको छ। आउँदो जेठसम्म म्याद थपको तयारी भएको आयोजनाले जनाएको छ। सात प्याकेजमा सञ्चालित ११० किलोमिटर दूरीको जोमसोम–कोरला खण्डको अन्तिमपटक थप भएको म्याद आगामी असारमा सकिँदैछ।
