
पोखरा। गायक प्रकाश सपूत गण्डकी प्रदेशबाट नेपाल भ्रमण वर्ष २०२० को सद्भावना दूतका रूपमा नियुक्त भएका छन्। नेपाल र नेपालको पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि गण्डकी प्रदेश सरकारले सद्भावना दूतका रूपमा सपूतलाई नियुक्त गरेको हो।
गायक सपूत सांगीतिक यात्राको क्रममा हाल जापानमा रहेकाले भ्रमण वर्ष शुभारम्भ समारोहमा उनका बुबा बलबहादुर विकले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङबाट सद्भावना दूतको प्रमाणपत्र ग्रहण गरेका थिए।
बागलुङको काठेखोला गाउँपालिका–३ धम्जामा जन्मिएका सपूतले गण्डकीजस्तो सुन्दर प्रदेशको सद्भावना दूतमा नियुक्त हुन पाउनुलाई महत्वपूर्ण उपलब्धि र जिम्मेवारीका रूपमा लिएको बताए। भ्रमण वर्षको सफलताका लागि सिर्जनात्मक, रचनात्मक र प्रचारात्मक हिसाबले सहयोगी भूमिका खेल्ने गायक सपूतले प्रतिबद्धता जनाए।
गायक सपूतसँगै म्याग्दीका कीर्तिमानी आरोही निर्मल पूर्जा पनि भ्रमण वर्ष २०२० को सद्भावना दूतका रुपमा नियुक्त भएका छन्। गण्डकी प्रदेश सरकारले पनि भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ।
