सरकार र उखु किसानबीच पाँच बुँदे सम्झौताः माघ ७ भित्रै किसानले भुक्तानी पाउने

Share:

काठमाडौं । सरकारले माघ ७ भित्र उखु किसानका सबै रकम भुक्तानी गर्ने भएको छ। उखु किसानसँग शुक्रबार साँझ भएको पाँच बुँदे सहमतिमा सरकारले यस्तो प्रतिबद्धता जनाएको हो।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको उपस्थितिमा किसान र सरकारी टोलीबीच भएको सहमतिअनुसार चिनी मिलबाट भुक्तानी गर्न बाँकी सम्पूर्ण रकम आगामी माघ ७ भित्र गरिनेछ। सहमतिपत्रमा उखु किसान संघर्ष समितिका सचिव हरेश्याम रायसहित केही किसान र मन्त्रालयका तर्फबाट सहसचिव दिनेश भट्टराईले हस्ताक्षर गरेका छन् ।

सहसचिव भट्टराईले भने, ‘पीडित उखु किसानको सम्पूर्ण बक्यौता रकम आगामी माघ ७ गतेभित्र उद्योगबाट उपलब्ध गराउने प्रतिबद्धतासहित सहमति भयो।’ सहमतिसँगै उखु किसानले आन्दोलन स्थगन गरेका छन्। उखु किसान रायले भने, ‘सहमतिअनुसार बक्यौता रकम उपलब्ध नगराए माघ ८ गतेदेखि सशक्त आन्दोलन गर्छौं, अहिले आन्दोलन स्थगन गरेका छौं।’ उखुको उत्पादकत्व बढाउन, किसानलाई समयमै मल, बिउ, मेसिनरी उपकरण उपलब्ध गराउन, चिनी उद्योगलाई आत्मनिर्भर बनाउन, चिनी निर्यातका लागि सहउत्पादनको उपयोग, उखुबापतको रकम तत्काल भुक्तानी गर्न सरकार सहमत भएको छ।

चिनी उद्योगलाई आवश्यक चालु पुँजी र नगद प्रवाह व्यवस्थापनका उपाय सिफारिस, किसानको हरेक वर्षको भुक्तानीका लागि स्वचालित मूल्य प्रणाली लगायतका विषयमा विज्ञ, सरोकारवाला निकाय, चिनी उद्योगी, किसानसहितकोण् संलग्नतामा कार्यदल गठन गरिएको छ।

कार्यदललाई अध्ययन गरी प्रतिवेदन बुझाउन १५ दिन म्याद दिइएको सहसचिव एवम् कार्यदल संयोजक भट्टराईले जानकारी दिए । चिनी उद्योगहरुले उखु किसानको झन्डै एक अर्ब ३९ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।केही उद्योगीहरुले भने शुक्रबारदेखि नै किसानहरुको बैंक खातामा रकम जम्मा गर्न सुरु गरेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: