राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता आज

Share:

काठमाडौं । राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ। सम्बन्धित प्रदेशका उच्च अदालत रहेका जिल्लामा खोलिएका निर्वाचन अधिकृतको कार्यालयमा आज (आइतबार) बिहान १० बजेदेखि अपराहृन ३ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता हुने कार्यक्रम रहेको निर्वाचन आयोगले जनाएको छ।

राष्ट्रियसभामा रिक्त हुन लागेका १८ पदका लागि माघ ९ गते निर्वाचन हुँदैछ। एक जनाको भने सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनयन हुने छ। मनोनयनपत्र दर्ताका लागि उम्मेदवारले नागरिकताको प्रतिलिपि, मतदाता नामावलीको उतार, धरौटी जम्मा गरेको रसिद वा बैंक भौचर तथा प्रस्तावक र समर्थक आवश्यक पर्ने आयोगले जनाएको छ ।

उम्मेदवारले १० हजार धरौटी बुझाउनु पर्ने छ। महिला, दलित वा अल्पसंख्यक समुदाय वा आर्थिकरुपले विपन्न उम्मेदवारको हकमा भने सो धरौटी रकममा ५० प्रतिशत छुट हुने आयोगले जनाएको छ।

राष्ट्रियसभाका ५९ जना सांसदमध्ये एकतिहाइको दुई वर्ष, अर्काे एक तिहाइको चार वर्ष र बाँकी एकतिहाइको ६ वर्षमा पदावधि समाप्त हुने संवैधानिक व्यवस्था रहेको छ । जसअनुसार नेकपाका ८, कांग्रेसका ७ र राजपाका २, समाजवादीका १ र सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित १ गरी कूल १९ सांसदको दुईवर्षे कार्यकाल आउँदो फागुन २० गते सकिँदैछ । जसमध्य एक जनालाई राष्ट्रपतिले मनोनयन गर्ने भएकाले बाँकी १८ जनाका लागि चुनाव हुन लागेको हो ।

राष्ट्रियसभा सदस्य निर्वाचनको मतदाता हुन, प्रदेशसभाका सांसद र स्थानीय तह (गाउँपालिका रनगरपालिकाका ७ सय ५३ स्थानीय तहका प्रमुख र उपप्रमुख गरेर १ हजार ५ सय ६ जना र प्रदेशसभाका ५ सय ५० जना सांसद राष्ट्रियसभा निर्वाचनका मतदाता छन्। तर स्थानीय तह र प्रदेशसभाका सांसदले दिने मतको भार भने फरक हुन्छ। स्थानीय तहका पदाधिकारीले दिने मतको भार १८ छ भने प्रदेशसभाका सांसदको मत भार ४८ निर्धारण गरिएको छ। दुवै तहको मतभार ५३ हजार ५ सय ८ छ।

कमेन्ट गर्नुहोस्
Share: