

पोखरा । राष्ट्रियसभा निर्वाचनका लागि गण्डकी प्रदेशमा ५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । माघ ९ गते हुने निर्वाचनका लागि ३ राजनीतिक दलका ५ जनाले उम्मेदवारी दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय कास्कीका सहायक निर्वाचन अधिकृत महेन्द्रराज सुवेदीले जानकारी दिए ।
उनका अनुसार सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट नारायणकाजी श्रेष्ठ र भगवती न्यौपानेले मनोनयन दर्ता गराएका छन्। श्रेष्ठले अन्य कोटाबाट र न्यौपानेले महिला कोटाबाट उम्मेदवारी दर्ता गराएका हुन्। श्रेष्ठको प्रस्तावकमा गण्डकी प्रदेशका भौतिक पूर्वाधारमन्त्री रामशरण बस्नेत र समर्थकमा प्रदेशसभा सदस्य दिलमाया रोका छन् । यस्तै न्यौपानेको प्रस्तावकमा नेकपा स्थायी समिति सदस्य एवं प्रदेश सरकारका अर्थमन्त्री किरण गुरुङ छन् भने समर्थकमा पोखरा महानगरपालिकाकी उपमेयर मञ्जुदेवी गुरुङ छिन् ।
कांग्रेसबाट सूर्यप्रसाद रेग्मी र विमला गौचनले उम्मेदवारी दर्ता गराएका छन् । अन्य सदस्यमा उम्मेदवारी दिएका रेग्मीको प्रस्तावकमा गण्डकी प्रदेशसभा सदस्य भागवत प्रकाश मल्ल र समर्थक भीरकोट नगरपालिका स्याङ्जाका प्रमुख छायाराम खनाल रहेका छन् ।त्यस्तै महिला सदस्यमा उम्मेदवारी दिएका विमला गौचनको प्रस्तावकमा जलजला गाउँपालिका पर्वतकी उपाध्यक्ष सीमा गर्बुजा पुन र समर्थक स्याङ्जा भीरकोट नगरपालिकाकी उपमेयर सीमा कर्माचार्य छन् ।
राष्ट्रियसभाका लागि राष्ट्रिय जनमोर्चाले समेत उम्मेदवारी दर्ता गराएको छ। जनमोर्चाकोतर्फ बाट कास्कीको पुम्दी–भुम्दी घर भएका शंकर प्रसाद बराल चुनावमा होमिएका छन्। उनकाे प्रस्तावकमा कृष्ण थापा छन् भने समर्थकमा पियारी थापा रहेकी छन्। प्रस्तावक र समर्थक दुवै गण्डकी प्रदेश सभा सदस्य हुन् ।
यस्तो छ निर्वाचन कार्यतालिका
जिल्ला निर्वाचन कार्यालय कास्कीका अनुसार सोमबार उजुरी दिन सकिनेछ । यस्तै पुष २२ गते परेका उजुरी बारे छानबिन हुनेछ । पुष २३ गते मनोनयन भएका उम्मेदवारको नामावली प्रकाशित गरिनेछ भने २४ गते उम्मेदवारले उम्मेदवारी फिर्ता लिन सक्नेछन् ।
पुष २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ । त्यसपछि माघ ९ गते बिहान १० देखि दिउँसो ४ बजेसम्म मतदान हुनेछ । मतदानका लागि गण्डकी प्रदेशमा जिल्ला निर्वाचन कार्यालय कास्कीलाई मतदान केन्द्र तोकिएको छ ।
माघ ९ गते ४ बजे मतदान सकिएपछि मतगणना सुरु गरिने जिल्ला निर्वाचन कार्यालय कास्कीका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए । गण्डकी प्रदेशको मतदान केन्द्र जिल्ला निर्वाचन कार्यालय कास्कीमा केन्द्र तोकिएको छ ।
२ सय ७० मतदाता
गण्डकी प्रदेशमा अन्य र महिला सदस्य गरी २ पद खाली हुँदैछ । गण्डकीबाट राष्ट्रिय सभामा अन्य काेटाका सुरेन्द्रराज पाण्डे र महिला काेटाकी बिन्दादेवी आले (राना) को कार्यकाल आउँदो फागुन २० गते सकिँदैछ ।
गण्डकी प्रदेशमा १ महानगरपालिका, २६ नगरपालिका र ५८ गाउँपालिका गरी जम्मा ८५ स्थानीय तह छन् । राष्ट्रिय सभा निर्वाचनमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख/उपप्रमुख एवं अध्यक्ष/उपाध्यक्षले मतदान गर्न पाउने व्यवस्था छ ।
गण्डकी प्रदेशमा स्थानीय तहका प्रमुख/उपप्रमुख एवं अध्यक्ष/उपाध्यक्ष गरी १ सय ७० जना छन् । प्रदेश सभामा समानुपातिकसहित कूल ६० सदस्य छन् । सबै गरेर २ सय ६० जना हुन्छन् । उनीहरुले नै दुई जनालाई राष्ट्रिय सभा सदस्य बनाउने छन् ।





