मौसममा सुधार आएपछि पोखराबाट सबै उडान

Share:

नवराज ढुङ्गाना पोखरा, १६ मंसिर / आज मंगलबार मौसम एक्कासी बिग्रियो । आकाशमा बाक्लो हुस्सु र बादल लागेपछि मध्यान्हसम्म पोखरा विमानस्थलबाट हुने उडान रोकिए । तर मौसम सुधार हुनासाथ बुद्धको एक उडान बाहेक सबै उडान भएको पोखरा विमानस्थलले जानकारी दिएको छ ।

बिहानका लागि तय भएका सबै उडान रद्द भएपनि जोमसोमका लागि तारा, यति र नेपाल एयरलाईन्सका १÷१ गरी ३ वटा उडान भएका थिए । मौसम सुधारपछि काठमाडौंका लागि तय भएका उडान पनि भएको पोखरा विमानस्थलका प्रशासकिय अधिकृत काशिनाथ पौडेलले जानकारी दिए । पोखराबाट जोमसोमका लागि बिहान तय भएका तारा र सिम्रिकका २ वटा उडान रद्द भए भने काठमाडौंका लागि यति एयरलाईन्सका ७, बुद्धका ६, सिम्रिकका २ र नेपाल एयरलाईन्सको एउटा उडान रहेकोमा बुद्धको एक बाहेक सबैले उडान भरेको उनले बताए ।

मौसमकै कारण सोमवार दिउँसो पनि केही उडान रोकिएका थिए । उडान नभएपछि, केही यात्रु आज बिहानै टिकट रद्द गरेर बसमार्फत काठमाडौं गए । पोखरामा केही दिन यता चिसो बढ्दै गएको छ भने बिहान लगातारजसो हुस्सु लाग्न थालेको छ । सामान्यतया आन्तरिक उडानतर्फ जहाज उडाउनका लागि २ हजार मिटरभन्दा बढी भिजिबिलिटी आवश्यक पर्ने भएपनि पोखरामा बिहान ५ सय मिटरभन्दा कम भिजिबिलिटी थियो ।  पोखरा काठमाडौं रुटमा मात्रै विभिन्न एयरलाईन्सका जहाजमार्फत ९ सयभन्दा बढी यात्रु ओहोरदोहोर गर्ने गर्दछन् ।

कमेन्ट गर्नुहोस्
Share: