तनहुँको मानहुँकोटमा सबैभन्दा ठूलो राष्ट्रिय झण्डा राख्ने तयारी, कास्की र लमजुङबाट पनि देखिने

Share:

तनहुँ । तनहुँको व्यास नगरपालिका–५ मानहुँकोटमा नेपालकै ठूलो राष्ट्रिय झण्डा राखिने भएको छ । राष्ट्रभक्तिको भावना जागृत गर्न र झण्डामार्फत व्यास नगरपालिकाको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले व्यास नगर युवा क्लब सञ्जालले पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै गइरहेको सो स्थानमा नेपालकै ठूलो झण्डा राख्न लागेको हो ।

नेपाल भ्रमण वर्ष २०२० को अवसर पारेर आगामी वैशाख १ गते मानहुँकोटमा नेपालको झण्डा फहराउने लक्ष्य राखिएको सञ्जालका अध्यक्ष गौरव पन्थले जानकारी दिए । उनका अनुसार मानहुँकोटको शिरमा नेपालकै सबैभन्दा ठूलो राष्ट्रिय झण्डा राखेर उक्त स्थानको पर्यटकीय गतिविधिलाई अझै वृद्धि गर्ने ध्येय राखिएको छ ।

सो क्षेत्रको राष्ट्रिय झण्डासहितको पूर्वाधार निर्माणका लागि रु १९ लाख १२ हजार १७० बजेट अनुमान गरिएको छ । झण्डा निर्माणका लागि रु ५० हजार, पूर्वाधार निर्माणका लागि रु १६ लाख ५२ हजार १७०, प्रचारप्रसारका लागि रु ३० हजार, दातासम्मानका लागि रु एक लाख बजेट अनुमान गरिएको छ । मानहुँकोटमा झण्डाका अतिरिक्त बस्नका लागि फलामे कुर्ची, उद्यान लगायत निर्माण गर्ने लक्ष्य राखिएको छ ।

सो झण्डा पृथ्वीराजमार्ग हुँदै यात्रा गर्ने दमौली र आसपासका क्षेत्र, कास्की, लमजुङका विभिन्न ठाउँबाट पनि देख्न सकिनेछ । झण्डाको लम्बाइ ४५ फिटको हुनेछ । यसमा प्रयोग गरिने खम्बा ७२ फिट अग्लो हुनेछ । हालसम्म नेपालको सबैभन्दा ठूलो झण्डा काठमाडौंस्थित माइतीघरमा राखिएको छ । जसको लम्बाइ १० मिटर र चौडाइ सात मिटरको रहेको छ ।

मानहुँकोटबाट धौलागिरि, माछापुच्छ्रे, अन्नपूर्ण, मनास्लु, लमजुङ हिमालको दृश्यावलोकन गर्न सकिन्छ । मानहुँकोटबाट दमौली बजार, मादी नदी, साँगे खोला, तनहुँ जलविद्युत्को ड्याम निर्माणस्थल एवं मनोरम दृश्य देख्न सकिन्छ ।

मानहुँडाँडा पुग्न बाटो कालोपत्रेको काम पनि शुरु भइसकेको छ । सङ्घीय सरकारको रु सात करोड बजेटबाट सडक कालोपत्रेका लागि नाला निर्माणको काम अन्तिम चरणमा पुगेको र कालोपत्रेको काम छिट्टै शुरु हुने बताइएको छ । मानहुँसम्म पुग्ने बाटो कालोपत्रे भएपछि पर्यटकको सङ्ख्या अझै वृद्धि हुने अनुमान गरिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: