कार्यालय स्थापना गर्न जिल्ला र प्रदेश क्रिकेट सङ्घलाई क्यानले रकम उपलब्ध गराउने

Share:

पोखरा । नेपालमा हुने विश्वकप लिग दुई अन्तर्गतको पहिलो शृंखलाका लागि नेपालले यही शुक्रबार देखि बन्द प्रशिक्षण थाल्ने भएको छ । नेपाल आफैले आयोजना गर्न लागेको पहिलो शृंखलाका लागि टोलीको बन्द प्रशिक्षण शुक्रबारदेखि पोखरा क्रिकेट मैदानमा सञ्चालन गर्ने भएको हो । आइतबार बसेको क्रिकेट एसोसिएन नेपाल–क्यानको बैठकले उक्त निर्णय गरेको हो ।

साथै क्यानले प्रत्येक जिल्ला संघ र प्रदेश संघलाई कार्यालय स्थापनार्थ रकम उपलब्ध गराउने भएको छ । कार्यालय स्थापना गर्न प्रत्येक जिल्लालाई एक–एक लाख र प्रदेशहरुलाई तीन–तीन लाख रकम उपलब्ध गराउने निर्णय क्यानले गरेको छ ।

क्यानले दैनिक कार्य सहज बनाउन पाँच सदस्यीय कार्य सम्पादन समिति पनि गठन गरेको छ । क्यानका अध्यक्ष चतुरबहादुर चन्दको अध्यक्षतामा समिति गठन गरेको हो ।

समितिमा उपाध्यक्ष राजुबाबु श्रेष्ठ, सचिव अशोकनाथ प्याकुरेल, कोषाध्यक्ष रोशनकुमार सिंह र केन्द्रिय सदस्य अमितवीर पाण्डे रहेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: