

दमौली। भानु नगरपालिका–४ शिखरकटेरीमा करिब तीन करोड रुपैयाँ लागतमा रामायण भवन निर्माण सम्पन्न भएको छ। पर्यटन विभाग र भानु जन्मस्थल विकास समितिद्वारा संयुक्त रुपमा भवन निर्माण पूरा भएको भानु नगरपालिकाले जनाएको छ।
आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँमा नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी कलात्मक रामायण भवन बनाइएको भानु नगरपालिकाका नगरप्रमुख उदयराज गौलीले जानकारी दिए। भवनको बार्दली काठमा कुँदिको कलात्मक रहेको छ।
करिब १० रोपनी क्षेत्रफलभित्र भानुगृह, आवासगृह, चमेनागृह, पुस्ताकालय, शौचालय, पोखरीलगायतका भौतिक संरचना निर्माण गर्ने गुरुयोजना रहेको भानु जन्मस्थल विकास समितिका निर्वतमान कार्यकारी निर्देशक शङ्कर रानाभाटले जानकारी दिए। उक्त गुरुयोजनाका लागि अनुमानित लागत १६ करोड रूपैया छ।
पर्यटकलाई थप आकर्षित गर्न आदिकविको १०० फिट अग्लो शालिक निर्माणलगायतका दीर्घकालीन गुरुयोजना रहेको भानु नगरपालिकाले जनाएको छ।

