नवराज ढुङ्गाना
पोखरा, १७ मंसिर ।
आज राष्ट्रिय अपाङ्गता दिवस, कास्कीमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ ।
दिवसको अवसरमा कास्कीमा क्रियाशिल विभिन्न अपाङ्गता भएका व्यक्तिहरुका संघसंस्थाले पोखरा सभागृहमा मूल समारोह गर्दैछन् भने पोखरा आसपासमा पनि अन्य कार्यक्रम आयोजना गरिएको छ । राष्ट्रिय अपाङ्ग महासंघ र सिविआर नेटवर्क कास्कीको अगुवाईमा बिहान १० बजेपछि पोखराको चिप्लेढुङ्गाबाट अपाङ्गता भएका व्यक्तिहरुको ¥याली निकालिँदैछ । ¥याली महेन्द्रपुल, नयाँबजार, पृथ्वीचोक, सभागृहचोक हुँदै सभागृह हलमा पुगेर मूल समारोह कार्यक्रममा परिणत हुने राष्ट्रिय अपाङ्ग महासंघ पश्चिमाञ्चल क्षेत्रीय सदस्य तथा सिविआर नेटवर्कका कार्यक्रम संयोजक खोम शर्माले जानकारी दिएका छन् ।
¥यालीमा दृष्टिविहीनहरुले पञ्चेबाजासमेत प्रस्तुत गर्नेछन् । चार दिवसीय कार्यक्रम अन्तर्गत हिजोपनि पोखरामा सचेतनामूलक कार्यक्रम भएका थिए भने भोलीपनि अन्तक्र्रिया तथा छलफल कार्यक्रम आयोजना गरिएको छ । यसैगरी, पुष ६ गते कास्कीका सम्पूर्ण सरकारी अधिकारीहरुसँग छलफल कार्यक्रम राखिएको शर्माले जानकारी दिए ।
सिविआर नेटवर्कको तथ्याङ्क अनुसार अहिले कास्कीमा १० हजार १५ जना अपाङ्गता भएका व्यक्तिहरु छन् । तीमध्ये करिब १५ सय पूर्ण अशक्त अपाङ्ग रहेका छन् । अपाङ्गता भएकाहरुले परिचय पत्र नपाएको र राज्यबाट पाउनुपर्ने सेवासुविधा सहज रुपमा नपाएको गुनासो समेत गर्दै आएका छन् । उनीहरुले नयाँ बन्ने संविधानमा अपाङ्गता भएका नागरिकको सवाललाई पहिचानसहित पहिलो प्राथमिकतामा राखी मौलिक हकको छुट्टै धारामा अनिवार्य समावेश गरिनुपर्ने, अपाङ्गता भएका व्यक्तिको राजनीतिक अधिकारको प्रतिनिधित्व र सहभागिताको अनिवार्य व्यवस्थाको सुनिश्चितता हुनुपर्ने माग समेत गरेका छन् । सरकारले यसैबर्षदेखि निलो परिचयपत्र प्राप्त गर्ने सबै अपाङ्गता भएका व्यक्तिलाई मासिक तीनसय रुपैंया सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने व्यवस्था गरेको छ ।
