काठमाडौं, मंसिर १७ । खेलकै क्रममा बलले लागेर निधन भएका अष्ट्रेलियन क्रिकेट खेलाडी फिलिप ह्युजको बुधबार अन्त्येष्टि गरिएको छ । ह्युजले बाल्यकाल बिताएको न्यु साउथ वेल्स राज्यको म्याक्सभिल सहरमा अन्त्येष्टि गरिएको हो ।
अन्त्येष्टिपूर्व अष्ट्रेलियन क्रिकेट टोलीका कप्तान माइकल क्लार्कले ह्युजको ‘कफन’ बोकेका थिए । सोक्रममा अष्ट्रेलियन क्रिकेट टोलीका सबै सदस्य उपस्थित थिए ।
यसैगरी, अष्ट्रेलियन प्रधानमन्त्री टोनी एबोट, विश्व क्रिकेटका महान हस्तीहरु शेन वार्न, ब्रायन लारा, भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीलगायतले ह्युजसप्रति अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका थिए ।
गत हप्ता अष्ट्रेलियाको सिड्नीमा एउटा घरेलु प्रतियोगिताको क्रममा बलले लागेर गम्भीर घाइते भएका ब्याट्सम्यान ह्युजको दुई दिनपछि सेन्ट भिन्सेन्ट अस्पतालमा उपचारकै क्रममा निधन भएको थियो । ह्युजको घाँटीको पछाडिपट्टी हेलमेटले नढाकेको भागमा चोट लागेको थियो ।
२५ वर्षीय ह्युजले अष्ट्रेलियाका लागि २६ टेस्ट तथा २५ अन्तर्राष्ट्रिय एक दिवसीय खेल खेलेका थिए । खेलमा घाइते हुनुपूर्व ह्युजले अविजित ६३ रन बनाएका थिए । विश्व क्रिकेट जगतमा ह्युजको उक्त अविजित ६३ रन सदावहार बनेर रहने भएको छ ।
उता, ह्युजको निधनपछि रद्द भएको अष्ट्रेलिया र भारतबीचको टेस्ट क्रिकेट श्रृंखला अर्को हप्ताबाट हुने भएको छ । गत हप्ता ब्रिसबेनमा हुनपर्ने पहिलो टेस्ट रद्द भएपछि दोस्रो टेस्ट डिसेम्बर ९ तारिखमा एडलेडमा सुरु हुनेछ ।

