

काठमाडौं । आज पृथ्वी जयन्ती, नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको योगदान स्मरण गरेर मनाइँदैछ । सिंहदरबार पश्चिम मूलद्वारमा नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा आयोजना हुने पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस समारोहमा राष्ट्र निर्माताको शालीकमा पुष्पहार अर्पण गरी नेपालको एकीकरणमा उनको योगदानको स्मरण गरिने छ ।
विसं १७७९ पुस २७ गते गोर्खामा जन्मिएका पृथ्वीनारायण शाहले ससाना राज्यलाई एकीकरण गरी आधुनिक नेपाल निर्माण गरेका थिए । तत्कालीन नेपालको अवस्थालाई विश्लेषण गर्दै पृथ्वीनारायण शाहबाट भएको दिव्योपदेश अहिले पनि उत्तिकै सान्दर्भिक रहेको भनी दूरदृष्टि व्यक्तिका रुपमा उनको सर्वत्र प्रशंसा हुँदै आएको छ ।
नेपाल एकिकरणको प्रयत्न
पृथ्वीनारायण शाहले नेपाल एकीकरणको महायात्रा सुरू गरी र कैयौं स्थानलाई नेपाल राष्ट्रमा गाभेर ४ वर्ण र ३६ जातको फूलबारीको सृष्टि गरे। पृथ्वीनारायणको उद्देश्यलाई युगको मागका रूपमा इतिहासकारहरूले हेरेका छन्। तत्कालीन बाइसे र चौबीसे राज्यहरू, उपत्यकाका विभाजित मल्ल राज्यहरू, पूर्वका किराँत र लिम्बुआन क्षेत्रहरू सबैतिर एउटा सशक्त राष्ट्रवादी शक्तिको आवश्यकता बढ्दै गएको थियो, जसको स्थान पृथ्वीनारायण शाहले पाएका थिए।
तनहुँमाथिको आक्रमण
नुवाकोट र वेलकोटको विजयपछि गोरखालीहरूले लामीडाँडामा कब्जा गरे। तर तनहुँद्वारा लामीडाँडा कब्जा गर्ने इच्छा रहेकाले तनहुँ र गोरखालीहरूबीच भिडन्तको सम्भावना बढ्यो। तर पृथ्वीनारायण शाहले गुरु गौरेश्वर पन्तलाई पठाई तनहुँको राजासंग सन्धि गर्ने भन्ने खवर पठाएकाले तनहुँका राजा त्रिविक्रम सेनविच केहि समय वार्तालाप भएपछि निर्धारित समयानुसार तिरमा लुकी बसेमा गोर्खाली सैनिकहरूले त्रिविक्रम सेनलाई वन्दी बनाई छोटो समयका लागि तनहुँमाथि कब्जा गरे।
यस प्रकारको कामबाट लमजुङ, कास्की, पर्वत आदि क्रुद्ध हुने सम्भावना भएकाले वि.स. १८१० मा त्रिविक्रम सेनलाई मुक्त गरे। वि.स. १८१२ मा गोर्खाली सैनिकले लमजुङ र तनहुँका संयुक्त फौजसंग युद्ध गर्न परेको थियो। यस युद्धमा गोर्खाले ठुलो जनधनको क्षति वेहोर्न पर्यो। तर पनि नालदुम, दहचोक, महादेव पोखरी, सिरानचोकको साथै कुलेखानि, इपा, माल्टा आदिमा कब्जा भएकाले गोरखाको सिमाना मकवानपुर सम्म पुग्यो।
किर्तिपुरमाथि पहिलो आक्रमण
वि.स. १८१४ मा पृथ्वीनारायण शाहले किर्तिपुरमा आक्रमण गरे। यसमा गोरखाको तर्फ १२०० सैनिक थिए। तर किर्तिपुरले काठमाण्डौ, ललितपुर र भक्तपुरका सैनिक समेत सहयोग मागेकाले किर्तिपुरतर्फ ३०० जति सैनिक थिए। यी दुईपक्षवीच बल्खु खोलामा ६ घन्टासम्म लडाई हुँदा धेरै गोरखालीहरुले वीरगति प्राप्त गरे।
किर्तिपुरको कब्जामा परेका पृथ्वीनारायण शाह राजवध गर्न नहुने नैतिक नियमको कारणले मात्र यहाँ बाचेका थिए। किर्तिपुर्को पहिलो युद्धमा विरगती प्राप्त गरेका काजी कालु पाण्डेका ठाउमा उनको छोरा वंशराज पाण्डेलाई र सेनापति पदमा शिवराम सिंह बस्न्यातका छोरा केहरसिंह बस्न्यातलाई नियुक्त गरी सैनिक पुनर्गठन गर्ने अभिभारा सुम्पिए। वि.स. १८१६ मा शिवपुरी र काभ्रेमाथि विजय प्राप्त गरे।
मकवानपुर विजय
वि.स. १८१९ को भाद्र महिनामा बंशराजपाडे र केहरसिंहले सङ्गठन गरेको सैनिक साथै महोद्दामकिर्ति शाह, दलमर्दन शाह, शुरप्रताप शाह, नन्दु शाह, दलजित शाहहरुका साथ पठाएको ठुलो संख्यामा मकवानपुरमा आक्रमण गरे। यहा १० घन्टासम्म लडाई चलेको थियो र अन्तत: दिग्वन्ध्न सेनले आत्मासम्पर्ण गरे।
गोरखा माथि आक्रमण
वि.स. १८२० मा दिग्वन्धन सेनलाई मद्धत गर्ने निहुमा तनहुँका राजा त्रिविक्रम सेन, पाल्पाको राजा मुकुन्द सेन तृतीय, कास्कीका राजा सिद्धिनारायण शाहको संयुक्त सैनिकले गोरखाको अधिनमा रहेको हर्मी, भिरकोट, धापकोट, चवांगली, धौराली, लकान्कोटमाथि आक्रमण गरी लुटपाट गरे।
किर्तिपुरमाथि दोश्रो आक्रमण
वि.स १८२१ को भाद्र महिनामा शुरप्रताप शाह, दलजित शाह र श्री हर्ष पन्तको नेतृत्वमा किर्तिपुर माथि दोर्श्रो आक्रमण भयो। यस युद्धमा पनि किर्तिपुरलाई पहिले जस्तै उपत्यकाबाट सैनिक सहयोग प्राप्त नभए पनि किर्तिपुरका जनताले गोर्खाली सैनिकलाई गोपुर किल्ला तोडी किर्तिपुरमा प्रवेश गर्ने मौका दिएनन। यस युद्धमा किर्तिपुरद्वारा निशाना लगाइएको तिरबाट शुरप्रतापको आँखा फुट्नुका साथै अन्य केहि फौज फर्कन वाध्य भए।
किर्तिपुरमाथि तेस्रो आक्रमण
किर्तिपुरमाथि तेस्रो पटकको युद्धको नेतृत्व काजी वंशराज पाडेले लिएका थिए। उनले चारैतिरबाट गोपुर किल्लालाई घेरी खेतालाका रुपमा केहि सैनिक किर्तिपुर पठाए। त्यसबखत किर्तिपुरमा धान भित्राउने समय परेकाले वंशराज कीर्तिपुरेहरुलाई आत्मसम्पर्ण गर्न भने। यो युद्धमा किर्तिपुरलाई छिमेकी राज्यहरुबाट सैनिक सहयोग भएको थिएन। वि.स. १८२२ चैत्र ३ गते धनवन्त काजीले गोपुर किल्लामा आत्मसम्पर्ण गरे।
सल्यानसंगको सम्बन्ध
वि.स १८२३ मा सल्यानी राजा श्रीकृष्ण शाहका छोरा रणभिम शाहसंग आफ्ना छोरी विलासकुमारीको विवाह गराई मैत्री सम्बन्ध कायम गरे। छिल्ली, दाङ, देउखरीलाई दाइजोको रुपमा दिए।
काठमाडौं उपत्यका माथिको आक्रमण
किर्तिपुर गोर्खाको कब्जामा पर्न गएका निकट भविष्यमै उपत्यकामा आक्रमण सम्भावना भएकाले जयप्रकाश मल्लले ललितपुर र भक्तपुरका राजाहरूसंग वैठक गरी गोर्खा सैनिकको विरुद्ध सशक्त सैनिक अभियान गर्नुपर्ने विचार व्यक्त गरेका थिए। तर ललितपुर र भक्तपुरका राजाले अनुकुल प्रतिक्रिया नजनाएकाको र गोर्खालीको पहिलो आक्रमण कान्तिपुरमै हुनेछ भन्ने ठानी जयप्रकाश मल्लले अंग्रेजहरूसंग सैनिक तथा हातहतियारको सहयोग मागे।
राजा जयप्रकाश मल्ललाई सहयोग गर्न वि.स. १८२३ मा किनलकको नेतृत्वमा २४०० सैनिक पूर्वी नेपालको सिन्धुलीगढी हुदै काठमाण्डौतिर बढ्यो। यो कुराको जानकारी पृथ्वीनारायण शाहलाई पहिले नै भएकाले सिन्धुलीगढीको रक्षार्थ बिरभद्र पाडेँ र वीरभद्र उपाध्याय र वंशु गुरुङको समुह ढुंगेवासमाथि आइपुग्दा वंशु गुरुङले प्रत्यासित रुपमा चढाई गरे भने अघि बढीसकेको फौजमाथि वंशराज र वीरभद्र उपाध्यायको फौजले पौवागढीमा आक्रमण गरेकाले सारा अंग्रेज फौज आफुसंग रहेको हातहतियार र बन्दुकहरू छाडी आफ्नो प्राण बचाउन जङ्गलतर्फ भागाभाग गरे।
कान्तिपुरमाथि आक्रमण
पृथ्वीनारायण शाहले उपत्यकालाई चारैतर्फबाट घेरी नाकाबन्दी गरेकाले उपत्यकामा चरम आर्थिक सङ्कट छाएको थियो। त्यसमा पनि काठमाडौंका राजा जयप्रकाश मल्ल कठोर विचार, घमण्डी र संकालु प्रवृतिका भएकाले रानी र भारदारहरू रिसाई उनलाई पदच्युत गरी उनका छोरा राज्यप्रकाश शाहलाई राजा बनाएका थिए। तर पछि उनले पुन: आफ्नो सत्ता प्राप्त गरे तर उनलाई आफ्नो छोरा, रानी र भारदारहरूको सहानुभूति प्राप्त भएन। आफ्नो शक्ति कायम राख्न विदेशी सैनिक झिकाई देवी देवताको गुठि मासेकाले धर्मप्राण नेपाली जनता क्षुब्ध भएका थिए भने विदेशी सैनिकलाई बढी तलब समेत दिने गरेकाले कान्तिपुरका सैनिकमा निराशा उत्पन्न भएको थियो।
ललितपुरको पतन
यस्तो स्थति बुझेर पृथ्वीनारायण शाहले वि.स. १८२५ आश्विन १३ मा इन्द्र जात्राको समय पारि नरदेवी, टुडिखेल र भिमसेनस्थान गरी ३ तर्फबाट आक्रमण गरी कान्तिपुर माथि विजय गरे। राजा जयप्रकाश मल्ल भागेर ललितपुरका राजा तेजनरसिह मल्लका गई शरण लिए। वि.स १८२५ आश्विन २५ गते पृथ्वीनारायण शाहले धनवन्त र केहरसिंहलाई ललितपुर पठाई आत्मसम्पर्ण गराउन पठाए। पाटनका राजाले विना कुनै युद्ध भागे ।
भक्तपुर विजय
काठमाडौंका राजा जयप्रकाश मल्ल र ललितपुरका राजा तेजनरसिह मल्ल भागेर भक्तपुरका राजा रणजित मल्लको शरणमा पुगे। राजा रणजित मल्लले आत्मासम्पर्णको सट्टा छिमेकी राज्य र अंग्रेजसंग समेत सीक सहयोग मागेकाले अनावश्यक ढिलासुस्ती गर्न झुने सम्झी भक्तपुर माथि आक्रमण गर्न वंशराज पाण्डे, कहरसिंह बस्न्यात, रामकृष्ण कुँवर, अमरसिहं थापा, कालीदास खड्का आदिका साथ १५०० सशस्त्र फौज पठाए। भक्तपुरमा युद्ध भयो जसमा ठुलो जनधनको क्षति भयो।
झन्डै २००० भन्दा बढीको मृत्यु र ५०० भन्दा बढी घर ध्वस्त भयो। हार स्वरूप वि.स. १८२६ मंसिर १ गते रणजित मल्लले आत्मासम्पर्ण गरे। यसै युद्धमा जयप्रकाश मल्लको खुट्टामा गोलि लाग्यो। उनको इच्छा अनुसार पृथ्वीनारायण शाहले उनलाई पशुपति जाने व्यवस्था मिलाईदिए। ६७ वर्षीय वयोवृद्ध मितबाबु रणजित मल्लले इच्छाबमोजिम उनलाई काशीबासको उचित व्यवस्था मिलाए। त्यहा पुगेको १८ महिना पछि उनको मृत्यु भयो। ललितपुरका राजा तेजनरसिंह मल्लले कुनै इच्छा व्यक्त नगरेकाले उनलाई आजीवन भक्तपुर दरबारमा कैद गरियो।
चौबीसे राज्यमाथि आक्रमण
उपत्यकाका तिनैवटा शहरमा अधिकार कायम भएपछि पृथ्वीनारायण शाहले पश्चिममा चौबिस राज्य विजय गर्न वि.स. १८२८ मा वंशराज पाण्डे र केहरसिंह बस्न्यातको नेतृत्वमा पठाएको फौज र चौविस राज्यका संयुक्त फौजबीच वि.स. १८२८ मा घमासान युद्ध भयो। १६ घण्टाको अविरल युद्ध हुँदा केहरसिंह बस्न्यातसहित ५०० भन्दा बढी गोर्खालीले वीरगत प्राप्त गर्नुका साथै वंशराज पाण्डे, प्रभु मल्ल जस्ता सेनापतिहरु पनि शत्रुको कब्जामा पर्न गएकाले रणवीर पाँडे र प्रभु मल्लले आफ्ना हातहतियार शत्रुलाई बुझाई बाँकी सैनिक लिई निराश भई पराजित अवस्थामा काठमाडौं पुगे।
पृथ्वीनारायण शाहले आफ्ना हातहतियार शत्रुपक्षलाई सम्पर्ण गर्नेहरुको जागिर समाप्ति गरी बन्दुक मोल बापत ६० रुपैयाँ लिएका थिए। यो पराजयले गोर्कालीहरुको महत्वकांक्ष, मान, प्रतिष्ठामा चोट लागेको थियो भने शत्रुहरुमा गोर्खा विरुद्ध कडा मुकाविला गरेमा विजय हुन् सकिन्छ भन्ने प्रतिरक्षात्मक भावना जागृत गरेको थियो।
मृत्यु
वि.सं. १८३१ (सन् १७७४) मंसिरको मध्यतिर जाडो छल्न नुवाकोट गएका पृथ्वीनारायण शाह नुवाकोट दरबारमा बिमारी परे । स्वास्थ्य झन्-झन् खराब हुँदै गएपछि उनैको इच्छाअनुसार त्यहाँको देवीघाट लगियो । नौ दिनसम्म घाटमै रही माघ १ गते बिहान सात बजे उनको निधन भयो । कतै कतै सिकार खेल्न गएको बेलामा बाघको आक्रमणमा परी गहिरो चोट परी घाइते भएको हिँदा मृत्यु भएको समेत उल्लेख छ।
घाटमै राखिएको बेला उनले नेपालको भूराजनीतिक अवस्था, सामाजिक जीवन, प्रतिरक्षा र विकासका सन्दर्भमा उपदेशहरु दिएका थिए, जसलाई ‘दिव्य उपदेश’ समेत भनिन्छ। “नेपाल दुई ढुंगाबीचको तरुल जस्तो रहेछ। दक्षिणको बादशाह महाचतुर रहेछ। जाइकटक नगर्नु, झिकी कटक गर्नु। नेपाल चार वर्ण, छत्तिस जातको साझा फूलबारी हो।” इत्यादि सान्दर्भिक उपदेशहरु पृथ्वीनारायण शाहले दिएका थिए। माघे संक्रान्तिका दिन ५२ वर्षको उमेरमा नुवाकोट जिल्लामा पर्ने त्रिशुली र तादी नदीको संगम ‘मोहन तिर्थ’ वा देवीघाटमा उनको मृत्यु भयो।
स्रोत-नेपाली विकिपिडिया


