

पोखरा । कास्की जिल्लाको पुर्वी भेगमा रहेको रुपा गाउँपालिकामा सोमबारदेखि रुपा मेला शुरु हुँदैछ । ध्रुव तारा क्लबले विगतका वर्ष जस्तै यस बर्ष पनि मेलाको आयोजना गरेको हो । क्लबको २० औं बार्षिकोत्सव एवं माघे संङ्क्रान्ति पर्वको अवसरमा रुपा गाउँपालिका–६ भिरचोकमा सोमबारदेखि शुरू हुने मेला माघ १ गतेसम्म चल्ने छ ।
मेलामा लोकदोहोरी कार्यक्रम, हास्य व्यंग्य प्रहर्सन, भलिबल प्रतियोगिता, एकल नृत्य प्रतियोगिता, प्रा.वि हाजिरी जवाफ प्रतियोगिता, झाँकी प्रदर्शनि प्रतियोगिता, रस्साकस्सी प्रतियोगिता, छेलो प्रतियोगिता, साँस्कृतिक कार्यक्रमलगायत विविध प्रस्तुतीहरु गरिने क्लबका अध्यक्ष प्रेम खड्काले जानकारी दिए ।
वि.सं २०६० सालदेखि निरन्तर रुपमा हँदै आएको मेलाले सो क्षेत्रको शैक्षिक, आर्थिक र भौतीक विकासमा टेवा पु¥याउँदै आन्तरिक एवम् बाह्य पर्यटक भित्र्याउन सहयोग पुग्ने विश्वास आयोजकको छ ।
यसैगरी मेलाकै अवसरमा सोमबार ४५ फिट अग्लो नेपालको राष्ट्रिय झण्डा झण्डतोलन गरिने क्लबका अध्यक्ष खड्काले बताए । सांसद एवं पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीले मेलाको उद्घाटन समारोहमा झण्डतोलन गर्ने भएका हुन् ।


