आजदेखि लेखनाथ महोत्सव

Share:

नवराज ढुङ्गाना

पोखरा १८ मंसिर ।

सात तालको शहर लेखनाथमा आजदेखि ११ औं लेखनाथ महोत्सव शुरु हुँदैछ । 

लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा हुन शुरु हुन लागेको महोत्सवको बिहीबार दिउँसो नेपाल राष्ट्र बैंकका गर्भनर डा. युवराज खतिवडाले उद्घाटन गर्ने कार्यक्रम छ । महोत्सव उद्घाटनका लागि गभर्नर खतिवडा बुधबार नै पोखरा आईसकेका छन् ।

“महोत्सव लेखनाथको सँस्कृति, स्थानीय उत्पादन, विकास र संमृद्धि” भन्ने मुल नाराका साथ मंसिर २९ गतेसम्म महोत्सव संचालन हुनेछ ।

२०६१ सालदेखि निरन्तर रुपमा संचालन हुँदै आएको लेखनाथ महोत्सवले स्थानीय, राष्ट्रिय तथा छिमेकी मुलकहरुमा उत्पादित औद्योगिक एवं दैनिक उपभोग्य वस्तु तथा सेवाहरुका साथै कृषिजन्य तथा हस्तकलाका सामानहरु जनसमक्ष परिचित गराई व्यवसाय विस्तार एवं प्रवद्र्धनमा टेवा पुर्याउँदै आएको आयोजकको दावी छ ।

घरेलु एवं नयाँ प्रविधि तथा सिपको प्रदर्शनी, आन्तरिक एवं वाह्य पर्यटन प्रवद्र्धन गर्ने, साहित्य, कला र संस्कृतिको प्रचारप्रसार तथा बजारीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष एवं महोत्सव संयोजक बावुराम गिरीले बताए । महोत्सवमा कृषि प्रदर्शनी, डेरी प्रदर्शनी, खाना महोत्सव, अटो, हस्तकला, मेशेनरी, फूड एण्ड वेभरेज, गार्मेन्ट र कर्पोरेट गरि ३ सय स्टल रहनेछन् ।

महोत्सवमा औद्योगिक व्यापार मेला, फेन्सी, कस्मेटिक तथा श्रृंगारका सामानहरु, विद्युतीय उपकरण, फर्निचरका सामानहरु, भान्छामा प्रयोग हुने मालसामानहरु, शिक्षा, स्वास्थ्य, खेलकुदका सामाग्रीहरु, सूचना प्रबिधि तथा सञ्चारका उपकरणहरु, पर्यटन तथा लेखनाथ क्षेत्रका गतिविधिहरु, अटोमोवाइल प्रदर्शनी, वित्तीय तथा अन्य सेवामुलक संघ संस्थाको सेवा तथा जानकारी, यस क्षेत्रमा उत्पादित सुन्तला, माछा, मौरी, कफि र दुग्ध उत्पादनको प्रदर्शनी, तरकारी, जैविक विविधता, कुखुरा प्रदर्शनी, लगायत रहनेछन् ।

यस्तै, राष्ट्रियस्तरका चर्चित कलाकारहरुवाट स्टेज सो, बाल उद्यान, खाना महोत्सव, म्युजिक कन्सर्ट, उत्कृष्ट स्टल पुरस्कार, राष्ट्रिय लोक दोहोरी प्रतियोगिता, शैक्षिक गतिविधिहरुको प्रस्तुती, रितिरिवाज झल्कने साँस्कृतिक महोत्सव, चित्रकला प्रदर्शनी, विभिन्न उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य, कृषि लगायत विभिन्न विषयमा अन्तरक्रिया लगायतका कार्यक्रमहरु रहने लेखनाथ उद्योग वाणिज्य संघका उपमहासचिव एवं प्रचारप्रसार संयोजक भरतकुमार अधिकारीले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
Share: