पोखरामा योग दिवसः ढिला भएपछि मेयर जिसीले भने – ‘योग दिवसको दिन मर्निङ वाक गर्दै आको’

Share:

योग गरौं, निरोगी रहौं । राष्ट्रिय एकता, योगको सान्दर्भिकता ।
नेपालमा योग दिवस मनाउन थालेको ५ वर्ष मात्र भयो । यस वर्ष यही नाराका साथ देशभर विविध कार्यक्रम गरी राष्ट्रिय योग दिवस मनाइयो । पोखरामा पनि बुधबार सबेरै मानवअधिकारचोक, चिप्लेढुंगामा पातञ्जल योग समितिले योग साधना कार्यक्रम आयोजना ग¥यो । आयोजकले कार्यक्रममा प्रमुख अतिथिका रुपमा आमन्त्रण गरेका थिए पोखरा महानगरका मेयर मानबहादुर जिसीलाई ।

बिहान ५ बजे सुरु कार्यक्रममा मेयर जिसी केही ढिला भए । उनले आफ्नो मन्तव्यका क्रममा भनिहाले- ‘आज योग दिवसको कार्यक्रममा पनि के गाडी चढेर आउनु ? हिँडेरै आको, ढिलो भई त गो ।’ सहभागीहरु हाँसे । जिसी मेयरको निवास ढिकालेथरदेखि मानवअधिकारचोक सम्म हिँडेरै गएका थिए ।

शरीर स्वस्थ र तन्दूरुस्त राख्नका लागि गरिने शारिरीक आसन नै योग हो । योगलाई अध्यात्मिक प्रक्रिया पनि मानिन्छ । जसले शरीर, मन र आत्मलाई सकारात्मक रूपले एकसाथ समावेश गर्दछ । योग दिवसलाई संयुक्त राष्ट्र सङ्घबाट पारित गरेर विश्व स्वास्थ्य सङ्गठनले प्राथमिकता दिँदै विगत ४ वर्षदेखि विभिन्न जनचेतनामूलक कार्यक्रमका साथ सञ्चालन गर्दै आएको छ ।

प्रमुख अतिथि जिसीले हर व्यक्तिले आफ्नो दिनचर्यालाई नै सुधार्नुपर्ने बताए । ‘ अब योगा घरघरमै आवश्यक छ । मन र शरीर स्वस्थ राख्न पनि योगा गर्नुपर्छ । महानगरले के के गर्नुपर्ने हो गर्न तयार छ ।’ जिसीले भने ।

गण्डकी प्रदेशसभा सदस्य प्रभा कोइरालाले नेपालमै स्थापित संस्था पातञ्जल योग समिति सानै भएपनि सक्रिय रहेको र निकट भविष्यमै यसले विशाल रुप लिने बताईन् । समितिकी शुभेच्छुक तथा सल्लाहकार समेत रहेकी कोइरालाले थोरै भएपनि, सानै भएपनि केही नहुने भन्दै आफ्नै बलबुतामा अब योगका गतिविधि अघि बढ्ने बताईन् ।

समितिका केन्द्रिय सदस्य प्रदिपकुमार श्रेष्ठले अब योगका गतिविधि आफ्नै मुलुकको अधिनमा हुनुपर्ने आवश्यकताबोध गरी स्वदेशी संस्था स्थापना गरेको बताए

योग गुरु नारायणी रेग्मी, समितिका गण्डकी प्रदेशका संयोजक डा. कृष्ण केसी, जिल्ला अध्यक्ष सुरेश श्रेष्ठ, नगर अध्यक्ष जिवनाथ बस्ताकोटी लगायतको उपस्थिति थियो । पातञ्जल योग समिति गण्डकी प्रदेशका अध्यक्ष कमला गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत गण्डकी प्रदेश सदस्य जगन्नाथ तिमिल्सिना र सञ्चालन प्रदेश महासचिव रश्मी अधिकारी भण्डारीले गरेकी थिईन् ।

सो अवसरमा तीन जना बालबालिकाले योगका आशन प्रस्तुत गरे । माछापुच्छ्रे गाउँपालिका ३, घाचोक स्थित जनजागरण आधारभूत विद्यालयका गौतम नेपाली, सन्ध्या नेपाली र निश्चल नेपालीले योगाशन प्रस्तुत गरेका हुन् । २०७२ को राष्ट्रिय योग प्रतियोगितामा प्रथम हुने योगी राजकोमला नन्द मार्फत बालबालिका पोखरा झरेका थिए ।

यसैबीच, दिवसकै अवसर पारी आगामी माघ ४ गते पोखरा, पालिखेचोकमा दञ्त शिविर आयोजना समेत समितिले गर्दैछ ।

कमेन्ट गर्नुहोस्
Share: