पोखराका २० वटा वडामा मेलमिलाप केन्द्र स्थापना

Share:

पोखरा। पोखरा महानगरपालिका वडा नम्वर-१५ मा मेलमिलाप केन्द्र स्थापना भएको छ । पोखरा महानगरपालिका न्यायिक समितिले वडा तहका विवाद वडामै समाधान गर्ने उद्देश्यले केन्द्र स्थापना गरेको हो । केन्द्रको पोखरा महानगरपालिका उपप्रमुख एवं न्यायिक समितिका संयोजक मञ्जुदेवी गुरुङले शुक्रबार उद्घाटन गरेकी छन् ।

केन्द्र उद्घाटनपछि बोल्दै उप-प्रमुख गुरुङले न्यायिक समितिले आफनो क्षेत्र अधिकारभित्र बसेर न्याय सम्पादन गर्ने बताइन् ।उनले महानगर र गाउँपालिकालाई एउटै प्रकृतिका विवाद दिँदा समस्या भएको बताइन् । उनले महानगरपालिका हुन जुनजुन मापदण्ड कायम गरिएको हुन्छ, त्यही आधारमा विवाद हेर्न पाउने कानुनी व्यवस्था हुनुपर्ने बताइन् ।

न्यायिक समितिका सदस्य किशोर बरालले न्यायिक समितिका गठन, समितिको क्षेत्राधिकार, समितिले हालसम्म गरेका काम र आगामी योजनाका बारेमा जानकारी गराए । पोखरा-१५ का अध्यक्ष प्रकाश पौडेलले वडाका विवाद समस्या समाधानमा सहज हुने बताए । उनले अहिले सम्म ११९ वटा विवाद दर्ता भएको र केही समाधान गरिएको बताए ।

न्यायिक समितिले दोश्रो चरण अन्तर्गत पोखरा १, २, ५, ६, ८, १०, १६, १९, २८ मा मेलमिलाप केन्द्र स्थापना गरेको छ । न्यायिक समितिले महानगरका ३३ मध्य २० वटा वडामा मेलमिलाप केन्द्र स्थापना गरेको छ । न्यायिक समितिले वडा तहका विवाद वडामै मेलमिलाप मार्फत समाधान गर्ने उद्देश्यले केन्द्र स्थापना गर्नसक्ने व्यवस्था गरेको छ ।महानगरमा १७४ जना मेलमिलापकर्ता सुचिकृत भएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: