अग्नि सापकोटालाई सभामुख बनाउन ओली–प्रचण्डबीच सहमति

Share:

काठमाण्डौ।  नेपाल कम्युनिस्ट पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सभामुखको उम्मेद्वार कसलाई बनाउने भन्ने विषयमा सहमति जुटेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजेबाट चलेको छलफलमा दुई अध्यक्षबीच सभामुखको उम्मेद्वारमा अग्नी सापकोटा बनाउने सहमति जुटेको बालुवाटार स्रोतले जनाएको छ।

सभामुखको उम्मेद्वार टुंगो लगाउन नेकपाको सचिवालय बैठक बेलुकी ४ बजे बस्ने भएको छ। प्रधानमन्त्री ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफलपछि सचिवालय बैठक डाकिएको हो।

पुस ४ गतेबाट सुरु भएको प्रतिनिधि सभाको बैठक पुस ११,१६ र २७ गते सुचना टाँस गरेर स्थगित हुँदै आएको छ । अर्को बैठक माघ ६ गतेलाई बोलाइएको छ । माघ ६ गते बस्ने बैठकमा सभामुखको निर्वाचन प्रकृया सुरु गर्ने तयारी छ । यसअघि प्रधानमन्त्री तथा अध्यक्ष ओलीले संसदीय दलका उपनेता समेत रहेका सुवासचन्द्र नेम्वाङलाई अघि सारेका थिए भने प्रचण्डले पुरानो सहमति कार्यान्वयन गर्न पनि पूर्वमाओवादी सहमतिबाट सापकोटाको नाम प्रस्ताव गरेका थिए ।

उपसभामुख शिवमाया तुम्बाहाङ्फेले सभामुखको दावी गर्दै आएकी छन्। एक साता अगाडि नेकपा सचिवालय बैठकले उपसभामुखलाई राजिनामा गर्न भनेको थियो। तर तुम्बाहाङफेले सभामुखको उमेदवार तय नभएसम्म राजीनामा नदिने अडान लिदै आएकी छन्।

गत असोजमा संसद सचिवालयकी एक कर्मचारीलाई जवरजस्ती करणी गरेको अभियोग लागेपछि तत्कालीन सभामुख कृष्णबहादुर महरा जेलमा छन्।

कमेन्ट गर्नुहोस्
Share: