
गोकुल बानियाँ, पोखरा १८ मंसिर । कास्कीमा अबैध हतियारधारी समुह बढेपछि प्रहरीले नियन्त्रण अभियानलाई तिब्र पारेको छ । कास्की प्रहरीले अबैध हतियारधारी ब्यक्ति तथा समुहलाई लगातार पक्राउ गरेसंगै पोखरामा साना हतियारको प्रयोग बढ्दै गएको देखिएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीले पिसपोखराडटकमलाई उपलब्ध गराएको तथ्याङ्क अनुसार गत चैत्र देखि अहिलेसम्म ९ महिनाको अबधिमा अबैध हातहतियार सहित १४ जना पक्राउ परेका छन् । उनिहरुबाट बरामद भएको हतियारको प्रकृति हेर्दा कतिपय अत्याधुनिक हतियार समेत छन् । सुरक्षा निकायमा समेत भर्खरै भित्रिएका हतियार अपराधिक समुहको हातमा परेको देखिएको छ ।
अन्य क्षेत्रको तुलनामा पोखरालाई सुरक्षाको दृष्टीले पनि शान्त शहरको रुपमा चिनिने गरेको भएपनि पछिल्लो समय हतियारधारी अपराधिक समुहको आश्रय स्थलको रुपमा देखिएको छ । गत बर्षको चैत्र देखि बिहिवार सम्मको तथ्याङ्क हेर्दा कास्की प्रहरीले ९ महिनामा ६ वटा पेस्तोल , एउटा एयरगन र बिष्फोटक पदार्थसहित १४ जनालाई नियन्त्रणमा लिएको हो ।
यो मंसिर महिनाको १५ दिने अबधिमा मात्रै ७ जना हतियार सहित पक्राउ परेका छन् । कास्की प्रहरीले ठुलो सफलताको रुपमा गत बैशाख १५ गते पोखराको न्यूरोडमा रहेको मेघा सहकारी लुटपाटका मुख्य योजनाकारलाई हतियार सहित पक्राउ गरेको थियो । घटनाका मुख्य योजनाकार रौतहटको चन्द्रनिगाहापुर घर भई पोखराको न्यूरोडमा बस्ने २३ बर्षिय शुसिल कुमार दुलाल जर्मनीमा बनेको अत्याधुनिक पेस्तोल र सो मा लाग्ने गोली तीन राउण्ड सहित पक्राउ परेका थिए ।
लगतै मंसिर १५ गते पोखराको पस्र्याङबाट ईङल्याण्डमा बनेको पेस्तोल एक थान , त्यसमा लाग्ने गोली २ राउण्ड सहित २७ बर्षिय केशरसिंह हेमजान र २९ बर्षिय कमल गुरुङ प्रहरीको नियन्त्रणमा आए । यसअघि मंसिर १ गतेमात्रै मेड ईन ईटली लेखिएको पेस्तोल र ६ राउण्ड गोली सहित चार जना पक्राउ परेका थिए । पक्राउ परेका मोही नारायण चौधरी, ज्ञानु चौधरी, बिट्टु चौधरी र ज्ञान बहादुर चौधरीलाई हात हतियार तथा खरखजना मुद्धा अन्तर्गत कारबाही प्रक्रिया सुरु भएको छ ।
यसअघि कार्तिक २० गते स्याङजा फेदिखोला – ९ का ३४ बर्षिय सुनिल गुरुङ एउटा चाईनिज पेस्तोल र दुई राण्ड गोली सहित पक्राउ परेका थिए । गत जेठ १३ गते ईटालीमा बनेको अटोमेटिक पेस्तोल र दुई राउण्ड गोली सहित काजीपोखरीका ३१ बर्षिय नरकाजी गुरुङ र ३४ बर्षिय राहुल भन्ने सन्तोष गुरुङ पक्राउ परे । तनहु घर भई पोखरा बस्दै आएका डिलसिंह गुरुङ र चन्द्र बहादुर गुरुङ बैशाख २९ गते बिष्फोटक पदार्थ एक्सप्लोसिभ ५ लोला र सेप्टी फ्युज १५ थान सहित लेखनाथबाट पक्राउ परेका थिए ।
गत बैशाखकै ९ गते एयरगन एक थान र एक राउण्ड गोली सहित कास्की धितालका अर्जुन थापामगर हेम्जाबाट प्रहरी नियन्त्रणमा आए । त्यस्तै गत चैत्र २५ गते एक थान कटुवा पेस्तोल र एक राउण्ड गोली सहित पर्बत भोकसिङ घर भई पोखरा भेडिफारम बस्ने नर प्रसाद गुरुङलाई प्रहरीले पक्राउ गरेको थियो ।
कास्की प्रहरी प्रमुख प्रहरी उपरिक्षक बसन्त कुमार लामाले हतियारधारी समुहमाथिको नियन्त्रण र निगरानीलाई बढाईएको पिसपोखराडटकमलाई बताए । यस क्षेत्रमा अन्य अबैध हतियारधारी समुहहरु पनि रहेको आशंकामा नियन्त्रणको लागि बिशेष टोलीलै खटाईएको उनले बताएका छन् । जिल्ला प्रहरी कार्यालय, अञ्चल प्रहरी कार्यालय गण्डकी र क्षेत्रिय प्रहरी कार्यालयको बिशेष टोली यस्ता समुहको निगरानीको लागि खटिएका छन् ।
