संसद बैठक आज : सभामुख चयन प्रक्रिया सुरु हुने, उपसभामुखले राजिनामा दिन सक्ने

Share:

काठमाडौं । पटक–पटक सूचना टाँसेर स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज(सोमबार) बस्दैछ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले सभामुख उम्मेदवारको टुंगो लगाएसँगै आज बैठक बस्ने निश्चित भएको हो।

संसदको पाँचौं अधिवेशन सुरु भएको एक महिनापछि प्रतिनिधिसभाको दोस्रो बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ ।

बैठक सुरु भएसँगै संसद सचिवालयले सभामुख चयनको प्रक्रिया सुरु गर्नेछ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले स्थायी कमिटी सदस्य अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेसँगै सभामुख चयनको प्रक्रिया सुरु हुने भएको हो ।

यसअघि सत्तारुढ दल नेकपा भित्र सभामुख कसलाई बनाउने भन्ने विषयमा सहमति हुन नसक्दा तीन पटक (पुस ११, १६ र २७ गते) प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित भएको थियो ।

यस्तै, तत्कालीन नेकपा एमालेबाट उपसभामुख निर्वा्चित डा. शिवमाया तुम्बाहाङ्फेले पनि आज राजीनामा दिने नेकपाले जनाएको छ। नेकपा सचिवालय बैठकले उपसभामुख तुम्बाहाङ्फेलाई राजीनामा दिन यसअघि नै आग्रह गरिसकेको छ।

कमेन्ट गर्नुहोस्
Share: