
काठमाडौं । मकवानपुरको पर्यटकीय क्षेत्र दामनको एक रिसोर्टमा बेहोस अवस्थामा भेटिएका आठजना भारतीय पर्यटकको मृत्यु भएको छ । नेपाल प्रहरीका सहप्रवक्ता एसएसपी उमेशराज जोशीले दिएको जानकारीअनुसार भारतको केरला क्षेत्रबाट नेपाल घुम्न आएका आठजना पर्यटकको मृत्यु भएको हो ।
नेपाल घुम्न भारतको केरलाबाट १५ जनाको समूह नेपाल आएका थिए । तीमध्ये आठ जना एउटै कोठामा सुतेका थिए । मृत्यु हुने दुई जना महिला र दुई पुरूष र चार बालबालिका रहेका छन्। हिटर तापेर सुतेका उनीहरु सबै बिहान अचेत अवस्थामा होटलमा फेला परेका थिए ।
मृत्यु हुनेमा भारत केरेलका ३९ वर्षीय रञ्जित कुमार, उनकी श्रीमती ३४ वर्षीया इन्दु रञ्जित, २ वर्षीय छोरा वैष्णव छन् । मृत्यु हुने अन्यमा ३९ वर्षकै प्रवीणकुमार नायर, उनकी श्रीमती ३४ वर्षीया सरैया नायर, ६ वर्षीया छोरी अरचा, ५ वर्षीया छोरा अभिनव र ४ वर्षीया छोरी बद्रा छन् ।
दामनको एभरेष्ट पानारोमा होटलमा बसेका उनीहरु बिहान अचेत अवस्थामा फेला परेका थिए । उनीहरुलाई हेलिकोप्टरमार्फत् काठमाडौंको ह्याम्स अस्पतालमा लगिएको थियो । प्रारम्भिक अनुसन्धानले कोठाको झ्याल, ढोका बन्द गरेर हिटर चलाएर सुतेका कारण निसास्सिएर मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ । यद्यपि, मृत्युको कारण पोष्टमार्टम रिपोर्टपछि मात्र खुल्नेछ ।
