
पोखरा । गण्डकी प्रदेश सभा सदस्य राजीव गुरूङ उर्फ दीपक मनाङे पक्राउ परेका छन् । केही दिनदेखि विवादमा रहेका प्रदेश सभा सदस्य गुरूङ विरूद्ध कास्की जिल्ला अदालतले आज पक्राउ गर्ने अनुमति दिएको थियो ।
अनुमति पाएसँगै प्रहरीले उनलाई लेकसाइडबाट पक्राउ गरेको हो । मंगलबारदेखि शुरू भएको मुख्यमन्त्री कपमा एन्फा कास्कीका अध्यक्ष मिलन गुरूङलाई मनाङेले हातपात गरेका थिए ।
आफूलाई हातपात गरेको भन्दै अध्यक्ष गुरूङले जिल्ला प्रहरी कार्यालय कास्कीमा किटानी जाहेरी दिएका थिए ।
मनाङे र मिलनबीच भएको के ?
पोखराको भण्डारढिक खेलमैदानमा गण्डकी प्रदेश स्तरिय मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको उद्घाटन हुँदै थियो । प्रतियोगितामा कोषाध्यक्षको जिम्मेवारी मिलन गुरुङलाई दिइएको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले केही समयपछि उद्घाटन गर्दै थिए । विशेष अतिथिका रुपमा प्रदेशसभा सदस्य राजिव गुरुङ (दिपक मनाङे) आइसकेका थिए । मुख्यमन्त्री पुगिसकेका थिएनन् ।
उद्घाटनको समय केही ढिला भएको थियो । आसनग्रहणका लागि मनाङेलाई बोलाइयो। मञ्चतर्फ जानेबेलामा मनाङे र एन्फा अध्यक्ष मिलन गुरुङबीच जम्काभेट भयो । सांसद मनाङे फायर थिए । मनाङबाट सहभागी डाँफे युवा क्लबको व्यवस्थापनका विषयमा मनाङेलाई आयोजकप्रति चित्त बुझिरहेको थिएन ।
एन्फाका केन्द्रिय अध्यक्ष नै कुट्छु भनेर मुर्मुरिरहेको बेलामा जिल्ला अध्यक्ष मिलनलाई देख्नासाथ उनले मनाङबाट आएको आफ्नो खेलाडीलाई किन अभ्यास मैदान र बस्ने ठाउँ नमिलाई दिएको ? भनेर प्रश्न गरे । जवाफमा एन्फा अध्यक्ष मिलनले अभ्यासका लागि प्रदेश प्रहरीको खेल मैदान भनिसकेको भने । खै त खेलाडीले अभ्यास गर्न पाएको ? नटेर्ने ? ढाँट्ने ? भन्दै दुई जनाबीच केहिबेर भनाभन भयो । करिब ५ मिनेट वादविवादपछि मनाङेले मिलनको छातीमा हात पु¥याए र धकेले ।
मनाङेले हात हालेपछि मिलन आफ्नो ज्यान बंग्याए । मिलनले छल्दा छल्दै मनाङेले मिलनको गोडामा हाने । भनेजस्तो नलागेपछि मनाङेले गालामै हाने । उनको प्रहार घाँटीतिर लाग्यो । सांसद गुरुङलाई प्रतियोगितामा सहभागी मनाङको फुटबल टिमलाई आयोजकले खाने, बस्ने व्यवस्था नगरेको विषयमा गुनासो थियो ।
