मेस्सीको ह्याट्रिकसँगै बार्सिलोना दोस्रो स्थानमा उक्लियो

Share:

काठमाडौं, मंसिर २२ / लिओनल मेस्सीले ह्याट्रिक गरेपछि बार्सिलोनाले स्पेनिस ला लिगामा स्पानियोललाई सहजै हराएको छ।

गएराति स्पानियोललाई ५–१ गोल अन्तरले हराउँदै अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। जितपछि बार्सिलोना १४ खेलबाट ३४ अंकका साथ दोस्रो स्थानमा उक्लिएको हो। लिग लिडर रियल मड्रिडको समान खेलबाट ३६ अंक छ। एथ्लेटिको मड्रिड ३२ अंकसहित तेस्रो स्थानमा झरेको छ।
बार्सिलोनाको घरेलु मैदान नाउ क्याम्पमा भएको खेलमा खेलको १३ औं मिनेटमा सर्जिओ गासीको गोलबाट स्पानियोलले अग्रता लिएको थियो। पहिलो हाफको अन्तिम मिनेटमा मेस्सीले गोल गर्दै खेललाई १–१ को बराबरीमा पुर्‍याए। पहिलो हाफ १-१को बराबरीमा खेलेको स्पानियोलले दोस्रो हाफमा थप चार गोल खाएको थियो।
 messi
खेलको ५० औं मिनेटमा लुइस स्वारेजको पासमा मेस्सीले नै दोस्रो गोल गरे। त्यसको तीन मिनेटपछि नै पिकेले गोल गर्दै टिमलाई ३-१को अग्रता दिलाए। यस्तै खेलको ७७ औं मिनेटमा पेड्रोले गोल थपे।
खेलको ८१ औं मिनेटमा पेड्रोको पासमा गोल गर्दै मेस्सीले ह्याट्रिक पूरा गर्दै टिमलाई ५-१को जित दिलाए।
गएरातिको ह्याट्रिकसँगै ला लिगामा मेस्सीको गोल संख्या २५६ पुगेको छ। यसअघि शनिबार रोनाल्डोले ला लिगामा २०० गोलसँगै सर्वाधिक ह्याट्रिकको कीर्तिमान बनाएका थिए। तर, मेस्सी अब २ ह्याट्रिकले मात्र पछि छन् ।
यो सिजनको सर्वाधिक गोलमा मेस्सीभन्दा रोनाल्डो अगाडि छन्। उनले कुल प्रतियोगितामा २९ गोल गरेका छन् । जसमा ला लिगाको २३ गोल समेत छ। मेस्सीको भने २० गोल पुगेको छ । जसमा ला लिगाको १३ गोल समेत समावेश छ ।
कमेन्ट गर्नुहोस्
Share: