
पोखरा । पूर्व राष्ट्रपति डा. रामवरण यादवले सरकारले शिक्षा क्षेत्रमा सुधारका काम गर्न नसकेको आरोप लगाएकाछन् । उनले सरकारले सामुदायिक बिद्यालयमा ध्यान नदिँदा केही व्यक्तिको भरमा सामुदायिक बिद्यालय चलेको सुनाए । शुक्लागण्डकी नगरपालिका स्थित पञ्चमुनीदेव माध्यमिक बिद्यालयको ५० औं वार्षिकोत्सब समारोहमा बोल्दै डा. यादवले बिद्यालयमा समावेशिता बढेको उल्लेख गर्दै यो नेपालको विकासको सुचकांकका रुपमा देखापरेको बताए ।
नेपालमा शिक्षा क्षेत्रमा विकास भने भैरहेको, शैक्षिक संस्थाहरु बढिरहेको तर गुणस्तर भने दिनानुदिन खस्किरहेकोमा चिन्ता व्यक्त गरे । पन्चायत र बहुदलमा शिक्षाना सुधार गरेपनि अहिले गणतन्त्रमा गुणस्तरीय शैक्षिक संस्था बनाउन नसकेको उनले बताए । ‘पन्चायत काल र बहुदलमा शिक्षालाई केही रुपमा विकास गर्यौ तर गणतन्त्रमा शिक्षा क्षेत्रमा उल्लेख्य प्रगती भने गर्न सकेनौं ।’ त्रिभुवन विश्वविद्यालयको उदाहरण दिदैं भने,’ जुन इज्जत त्रिभुवन विश्वविद्यालयको २० वर्ष पहिले थियो, त्यो अहिले छैन । यसबाटै बुझ्न सक्छौं, नेपालका अरु संस्था पनि यस्तै छन् ।’
उनले ८०% विधार्थीले अध्ययन गर्ने सामुदायिक विद्यालयले नै गुणस्तरीय शिक्षा दिन नसकेको बताए । यसले नेपालको भविस्य राम्रो नहुने उनले चिन्ता व्यक्त गरे । ‘८०% बिद्यार्थिले सामुदायिक बिद्यालयमा अध्ययन गर्छन, जहाँ गुणस्तरीय शिक्षा नै छैन ।’ उनले भने, ‘केबल २०% ले देश बिकास गर्छन् भनेर ढुक्क हुन मिल्दैन ।’
अहिले नेपाली समाजमा बिद्यालयको जिम्मा समुदायले लिन नसकेको उनको गुनासो छ । उनले भने, ‘हामी पढ्ने बेलामा बिद्यालयको जिम्मा समुदायले लिने गर्थे, तर अहिले त्यस्तो छैन ।’ नेपालका बालबालिकाले अहिले धेरै मोबाइल फोन प्रयोग गर्ने र त्यसलाई शिक्षामा जोड्न सके सिक्ने सिकाउने काममा नयाँ फड्को हुने उनले बताए ।
शिक्षालाई प्रविधिसंग जोड्न सके बिद्यार्थिले पाठ्यक्रम छिटो र सजिलो सङै बुज्ने बताए । ‘अहिले बालबालिकाले फोनको प्रयोग गर्छन, यसलाई शिक्षासंग जोड्न सके नेपालको शिक्षाले नयाँ फड्को मार्नेछ ।’ यसलाई कसरी जोड्ने भन्ने ज्ञान शिक्षकसङ्ग हुनु पर्ने बताए । उनले सामुदायिक बिद्यालयको विद्यार्थीको संख्या बढाउनका लागि पहिले उचित पुर्वाधार निर्माण गरिनु पर्ने सुझाव दिएका छन् । उनले सुरुमा उचित भवन, कक्षाकोठा व्यवस्थित गराउने, लाइब्रेरी, कम्प्युटर र खानेपानीको व्यवस्था गराउन सके बिद्यालयमा बिद्यार्थीको संख्या बढ्ने बताए ।
अहिले नेपालका बिद्यालयमा लागुऔषध दुर्व्यशनी बढिरहेको आफुले पाएको यादवले सुनाए । आफू स्वास्थ मन्त्री हुने बेलामा यस्ता घटना केबल धरान र पोखरामा हुने गरेका भएपनि अहिले देशभर बढिरहेको उनले बताए । ‘म स्वास्थ मन्त्री हुने बेला केबल २ सहरमा यस्ता घटना हुने गर्थे तर अहिले देशभर यो बढिरहेको छ।’ उनले भने, ‘यसले नेपालमा दक्ष जनशक्तिको उत्पादन घटिरहेको छ, जसले बिकासमा बाधा उत्पन्न गराएको छ।’ अहिले विश्वमा नै प्रतिस्पर्धा बढिरहंदा नेपालले पनि प्रतिस्पर्धा गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्नु पर्ने बताए । यसका लागि नेपालका निजि एवम् सामुदायिक बिद्यालय सबै मजबुत हुनु पर्ने सुझाए ।
नेपालका विभिन्न शैक्षिक संस्थामा कम शुल्कमा गुणस्तरीय शिक्षा दिंदा पनि अभिभावकले केहि गुनासो नगर्ने तर केही बढी शुल्क लाग्ने बित्तिकै कराउने गरेको बताए । डा. यादवले ले पन्चमुनिदेव मा।वि भने यसको अपवादको रुपमा आफुले पाएको बताए । पञ्चमुनीदेवले कम शुल्कमै गुणस्तरीय शिक्षा दिन सकेको र जिल्लाको नमुना बिद्यालय बन्न सकेकोमा बधाई पनि दिए ।
उनले नेपाली समाजमा संस्कृति पनि ‘मिक्स अप’ भैरहेको बताए । यादवले अहिले पहाडी भेगमा तराईका र तराईमा पहाडका संस्कृतिले स्थान पाएको सुनाए । पञ्चमुनीदेवका बिद्यार्थिले प्रस्तुत गरेका झिझिया नाँचको प्रशंसा गर्दै भने,’यहाँ आउँदा म गुरुङमगरका नृत्य मात्र देख्न पाउँछु जस्तो लागेको थियो तर झिझिया नाँच पनि देख्दा निकै खुसी लाग्यो । ‘
पञ्चमुनिदेव माध्यमिक बिद्यालयमा शुक्लागण्डकी नगरपालिकाकै शैक्षिक धरोहरका रुपमा रहेको छ । अहिले पन्चमुनिमा २४ सय बिद्यार्थिले अध्ययन गरिरहेको बिद्यालयका प्राचार्य ध्रुबकुमार मल्लले जनाए । २०२७ साल देखि सन्चालनमा आएको यस बिद्यालय अहिले तनहुँको एक नमुना बिद्यालयका रुपमा रहेको छ । यस बिद्यालयमा प्राविधिक धारतर्फ पशु बिज्ञानका कक्षा पनि स१चालनमा रहेको छ ।
