
काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले नागरिक लगानी कोषले नेपाल वायुसेवा निगमलाई दिएको कर्जाको जोखिम नरहेको बताएका छन् ।
संघीय संसद प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बुधबारको बैठकमा अर्थमन्त्री खतिवडाले नागरिक लगानी कोषले निगमको वाइडबडी खरिदमा गरेको लगानीको भुक्तानीको प्रकृया सुरु भइसकेकोले जोखिम कम हुँदै गएको बताए ।
‘नागरिक लगानी कोष ऐन २०४७’ लाई संशोधन गर्न बनेको विधेयकमाथिको दफावार छलफलका क्रममा उनले निगमले समयमै ऋण तिरिसक्ने विश्वास सरकारले गरेको बताए ।
उनले निगमको अन्तरिक व्यवस्थापनका कारण केही ढिला भएपनि समयमै भुक्तानी गर्ने विश्वास आफुले गरेको बताए । मन्त्री खतिवडाले लगानी कोषको प्राथमिकताअनुसार लगानीको सीमा तोकिएको र वायु सेवा निगमलाई सरकारले ग्यारेन्टी दिएपछि मात्रै कर्जा दिएको बताए ।
