
एजेन्सी। १७ वर्षीय किशोर खेलाडी आन्सु फातीको गोलको सहयोगमा बार्सिलोनाले महत्वपूर्ण जित दर्ता गरेको छ । स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा बार्सिलोनाले लेभान्टेलाई २–१ ले पराजित गरेको हो ।
यो खेलमा बार्सिलोनाका लागि दुवै गोल फातीले गरेका हुन् । ३० औँ मिनेटमा पहिलो खेला गरेका उनले ३१ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेका हुन् ।
फातीले पहिलो हाफमा गरेको दुई गोलबाट अग्रता दिलाएको बार्सिलोनाले इन्जुरी समयको दोस्रो मिनेट अर्थात ९२ औँ मिनेटमा एक गोल खायो । लेभान्टेका लागि रुबेन रोचिनाले गोल गरेका हुन् ।
फातीको दुवै गोलका लागि लियोनल मेस्सीले सहयोग गरेका हुन् । जितपछि दोस्रो स्थानको बार्सिलोनाले शीर्ष स्थानको रियल मड्रिडसँगको अंक दूरी तीनमा झारेको छ । बार्सिलोनाको ४६ तथा रियल मड्रिडको ४९ अंक छ ।
आइतबार राति नै भएको खेलमा एथ्लेटिको बिल्बाओलाई २–० ले पराजित गरेको गेटाफे २२ खेलबाट ३९ अंकसहित तेस्रो स्थानमा उक्लिएको छ । एलाभेससँग १–१ को बराबरीमा रोकिएको सेभिल्ला भने समान ३९ अंक रहे पनि चौथो स्थानमा झरेको छ ।
अरु खेलमा भिल्लारियलले ओसासुनालाई ३–१ तथा लेगानेसले रियल सोसिडाडलाई २–१ ले पराजित गरेका छन् । एइबर र रियल बेटिसले १–१ को बराबरी खेल्दै अंक बाँडेका छन् ।
