
काठमाडौं । राष्ट्रियसभा बैठकबाट मिडिया काउन्सिल विधेयक संशोधन सहित पारित गर्ने तयारी भएको छ । आज (बिहीबार) दिउँसो एक बजे बस्ने राष्ट्रियसभा बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले यो विधेयक छलफल र पारित गरियोस् भन्ने प्रस्ताव राख्ने कार्यसूची रहेको छ ।
बैठक अघि नै विवादित विषयमा छलफल जुटाउनका लागि सञ्चार मन्त्री बाँस्कोटा तथा दलका नेताहरुसँग राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले छलफल गर्ने कार्यक्रम रहेको अध्यक्ष निकट स्रोतले जानकारी दिएको छ ।
समाचारजन्य सामाग्रीका कारण कसैको प्रतिष्ठामा आँच पुगे मिडिया काउन्सिलले आम सञ्चार माध्यम, पत्रकार र प्रकाशकलाई २५ हजारदेखि १० लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने प्रस्तावित व्यवस्था हटाएर नयाँ आउने पत्रकारले परीक्षा दिएर लाइसेन्स लिनुपर्ने व्यवस्था विधेयकमा थप गरिएको छ । तर पत्रकारले परीक्षा दिएर लाइसेन्स लिनुपर्नेलगायतका व्यवस्थाको विरोध हुँदै आएको छ ।
बिहीबारै दिउँसो एक बजे प्रतिनिधिसभाको बैठक पनि बस्दै छ ।
