
काठमाडौं । आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय क्रिकेट सिरिजमा नेपालले पहिलो जित निकालेको छ । घरेलु टोली नेपालले शनिबार अमेरिकालाई ३५ रनले हराएर सिरिजमा पहिलो जित निकालेको हो।
त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको १ सय ९१ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको अमेरिका ४४ ओभर १ बलमा अलआउट हुँदै १५५ रनमा समेटियो । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४९ ओभर २ बलमा अलआउट हुँदै १ सय ९० रन बनाएको थियो ।
नेपालले पहिलो खेलमा ओमानसँग १८ रनको हार ब्यहोरेको थियो। नेपालले शृंखलाअन्तर्गत तेस्रो खेलमा आइतबार ओमानसँग खेल्ने छ। ओमानले पहिलो खेलमा नेपाल र दोस्रो खेलमा अमेरिकालाई हराएको थियो। यस शृंखलामा हरेक टोलीले प्रत्येकसँग दुई/दुई खेल खेल्नेछन्।
कुशलले बनाए डेब्युमै रेकर्ड
शनिबारको खेलबाट नेपाली राष्ट्रिय क्रिकेट खेलाडी कुशल मल्लले अन्तराष्ट्रिय क्रिकेटमा कीर्तिमान बनाएका छन्। अल राउन्डर मल्लले एकदिवसीय क्रिकेटमा सबैभन्दा सानो उमेरमा अर्धशतक बनाएका हुन्।
उनले अमेरिकाविरुद्धको खेलमा अर्धशतक प्रहार गर्दै एकदिवसीय क्रिकेटमा अर्धशतक प्रहार गर्ने सबैभन्दा कान्छो उमेरको खेलमाडीको रेकर्ड बनाएका हुन्। १५ वर्ष ३४० दिनमा अर्धशतक प्रहार गर्ने उनीनै सबैभन्दा कम उमेर खेलाडी हुन्।
यसघि यस रेकर्ड नेपालकै अर्का खेलाडी रोहित कुमार पौडेलको नाममा रहेको थियो। पौडेलले १६ वर्ष १४६ दिनमा यूएईविरुद्धको खेलमा ५८ बलमा ५५ रन बनाउँदै रेकर्ड बनाएका थिए ।
