
कुरा २०७२ सालको हो । महिना माघ ।
बिहानको समय थियो । संगीता मगर काठमाडौँमा आफ्नो परिवारसँग बस्थिन् ।
बिहानको समयमा पढाइका लागि तयारी कक्षा पुगिन् । साथी सीमा पनि सँगै थिइन् । दुवै बीच पढाइको कुरा चल्दै थियो ।
अचानक कसैले संगीतामाथि कसैले तरल पदार्थ फाल्छ । त्यसपछि आफ्नै गतिमा चलिरहेको उनको जीवनले अर्कै बाटो लिन्छ ।
अब म यो विषयलाई यहीँ थातीँ राखेर हाम्रो बाल्यकालतर्फ लैजान चाहान्छु । हामी सानोमा विज्ञान विषय पढ्ने बेलामा एसिड भनेको के हो र यसको दुरू¥योग गर्दा के समस्या आउँछ भनेर पढेका थियौँ ।
यो प्रश्नको उत्तरमा हामी सबैले भन्थ्यौँ – एसिडको दुरू¥योगले गर्दा सामानको हानी हुने र नाङ्गो हातले छुँदा हात नै जल्छ ।
अब कल्पना गर्नुहोस् – त्यस्तो खतरनाक पदार्थ तपाइँको अनुहार वा कुनै पनि अङ्गमा पर्दा के हुन्छ ?
निरन्तर एसिड आक्रमणका घटना तथा दबाबले गर्दा सरकारले अहिले तेजाब प्रहारका साथसाथै घरेलु हिंसा र अग्नि हिंसा जस्ता अपराध विरूद्ध कानुन बनाएको छ ।
नेपालको फौजदारी संहिता २०७४ मा एसिड आक्रमणलाई अपराधिकरण गरी दण्ड सजाय र क्षतिपूर्तिको व्यवस्था गरिएको छ ।
त्यसअनुसार यदि कुनै व्यक्तिले एसिड अथवा एसिडजन्य पदार्थ कसैको ज्यान लिने मनाशयले प्रहार गरेको पाएमा दोषीलाई ५ देखि ८ वर्ष जेल सजाय र घटनाअनुसार क्षतिपूर्ति स्वरूप एकदेखि तीन लाखसम्म तिर्नुपर्ने हुन्छ ।
सो व्यवस्थाअनुसार पीडकले तिरेको पीडितको उपचारका लागि खर्च गरिन्छ । अब तपाइँहरूलाई एउटा प्रश्न सोध्छु ।
के साँच्चै यस्ता अपराध रोक्न कानुन बनाएर मात्र पुग्छ ?
विश्वको कुरा गर्दा वर्षेनी १५ सय बढी एसिड प्रहारका घटना दर्ता हुन्छन् । तर ६० प्रतिशत घटना दर्ता भएको पाइँदैन ।
नेपालको सन्दर्भमा गएको सन् २०१० देखि यता मात्र झण्डै ३ दर्जन एसिड आक्रमणका घटना रेकर्डमा आएका छन् । काठमाडौँको ‘बर्न भायोलेन्स सरभाइभर नेपाल’ को अनुसन्धानले यस्तो देखाएको हो ।
कानुन बनाउने र कार्यान्वयन अगाडिको चुनौती भनेको घटनालाई प्रहरी कहाँ उजुरी गर्नुपर्ने भएकोले पीडितलाई निडर भएर उजुरी गर्ने वातावरण युवा मिलेर बनाउन आवश्यक छ ।
कानुन बनाउँदै गर्दा अपराध भईसके पछिको लागि मात्र नभएर अपराध नै हुन नदिनका लागि सरकारी तवरबाट खासै कदम चालेको पाइँदैन ।
यदि एसिड शहर बजारमा सहजै उपलब्ध हँदैनथ्यो भने पक्कै यस्तो हिंसामा कमि आउने थियो भन्ने आशाका साथ २०७४ सालमा एसिडको खुलेआम हुने बेचबिखन नियमनको माग गर्दै दायर गरिएको सार्वजनिक सरोकारको मुद्धामा सर्वोच्च अदालतले सरकारलाई एसिडजन्य वस्तुको खुलेआम विक्रीवितरणमा कानुनी नियमन गर्न आदेश गरेको छ ।
सर्वोच्चको साथमा रहेर विभिन्न संघसंस्था तथा सामाजिक अभियान्ताहरू पनि आवाज उठाइरहेको अवस्थामा हामी सबै मिलेर सरकारलाई दबाब दिने काम गर्नुपर्ने देखिन्छ ।
आउ हामी सबै सरकारलाई दबाब दिउँ र यस्ता घटना रोकथामका लागि लागौँ । मानव हुन सिकौँ ।
एसिड आक्रमण गर्नेले सजाय भोग्दासमेत पीडितको घाउ उस्तै हुन्छ । एसिड आक्रमणबाट पीडित भएकाहरू विभिन्न बाधा झेल्दै बाँचिरहेका छन् ।
उनीहरूको हौसला थप्नु आवश्यक छ । यस्ता घटनाबाट पीडित भएर पनि हार नमानेका सबै पीडितलाई मेरो सलाम ।
(यो पोखरा विश्वविद्यालय फेयर २०२० मा युवा अभियान्ता स्मृति बरालले एसिड आक्रमणका विषयमा राखेको धारणको सम्पादित अंश हो ।)
