दादुरा–रुबेलाविरुद्धको खोप अभियान आजबाट, दुई चरणकै खोप लगाएकाले पनि अनिवार्य लगाउनुपर्ने

963
0
Share:

काठमाडौं ।  आज (बिहीबार) देखि दादुरा–रुबेला विरुद्धको खोप अभियान शुरु गरिँदैछ । सरकारले दादुरा र रुबेला रोग विरुद्धको खोप अभियान कार्यक्रम दुई चरणमा गर्ने यसअघि नै जानकारी दिइसकेको छ ।

दादुरा र रुबेलाविरुद्धको खोप शिशु जन्मिएको ९ महिना र १५ महिनामा गरी दुई पटक लगाउनुपर्छ । सरकारी योजना अनुसार दादुर र रुबेला ९ महिनादेखि ५ वर्षमुनिका सबै बालबालिमालाई दिईंदै छ । दुई चरणमा गरी देशभरका ३० लाख बालबालिकामा यो खोप दिइने बाल स्वास्थ्य तथा खोप सेवा शाखाले जनाएको छ ।

दुई चरणमा सञ्चालन हुने अभियानअन्तर्गत सरकारले पहिलो चरणमा फागुन एक गते देखि ३० गतेसम्म एक महिना र दोस्रो चरणमा चैत एक गतेदेखि ३० गतेसम्म खोप अभियान सञ्चालन गर्न लागेको हो ।

पहिलो चरणमा बिहीबारदेखि एक महिनासम्म प्रदेश १, २ र ५ मा ९ महिनादेखि ५ वर्षमुनिका बालबालिकालाई दादुरा र रुबेलाविरुद्धको खोप दिइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डाक्टर झलक गौतमले जानकारी दिए ।
चितवन र पूर्वी नवलपरासीबाहेक तराईका १९ जिल्लामा बिहीबारदेखि नै दादुरा र रुबेलाको खोपसँगै बालबालिकालाई पोलियो थोपा पनि खुवाइने छ ।

दुई चरणकै खोप लगाएका बालबालिकालाई पनि यो खोप अभियानअन्तर्गत थप खोप लगाउनुपर्ने प्रमुख गौतमले जानकारी दिए । अहिलेको खोप थप मात्रा भएकाले अनिवार्य लगाउनुपर्ने उनको भनाइ छ ।

यस्तै, दोस्रो चरणमा आउँदो चैत १ गतेदेखि एक महिनासम्म वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका बालबालिकालाई दादुरा र रुबेलाविरुद्धको खोप अभियान सञ्चालन हुनेछ ।

सन् २०२३ सम्ममा नेपालबाट दादुरा र रुबेला निवारण गर्नुपर्ने लक्ष्यअनुसार दादुरा र रुवेलाविरुद्धको खोप दिन लागिएको सरकारले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: