पोखरामा हुदैन खानेपानीको ‘अनलाइन बिल भुक्तानी’, यस्तो छ खानेपानी संस्थानको तयारी

Share:

रेम बिक
पोखरा, ४ फागुन । ‘अनलाइन बिलिङ सिस्टम’ले यतिबेला सर्वसाधारणहरुलाई निकै राहत मिलेको छ । घरमै बसि बसि विभिन्न ठाऊँको बिल तिर्न सकिने भएपछि ‘अनलाइन बिलिङ सिस्टम’ अहिले दिनप्रतिदिन झन् झन् लोकप्रिय पनि बनिरहेको छ ।

खासगरि ईसेवा, आइएमई पे, खल्ती जस्ता ‘एप’ अहिले धेरै जनाको ‘स्मार्टफोन’को अनिवार्य ‘एप’ बनिसकेका छन् । र, सकेसम्म धेरै सुविधा दिने गरि यी सेवा प्रदायक कम्पनीहरुले पनि काम गरिरहेका छन् ।

अनलाइनबाट बिजुलीको बिल, खानेपानीको बिलदेखि हवाई, बस र फिल्मको समेत टिकट खरिद गर्न सकिन्छ । तर, नेपालको धेरै ठाऊँमा जस्तो पोखरामा भने कुनै पनि सेवा प्रदायक कम्पनीको ‘एप’बाट खानेपानीको बिल तिर्न मिल्दैन । यद्यपि नजिकैको लेखनाथमा भने सेवाग्राहीले खानेपानीको अनलाईन ‘बिलिङ’को सुविधा लिईरहेका छन् ।

अनलाइन बिलिङका लागि सबैभन्दा चर्चित ई सेवाले पनि पोखरामा यो सुविधा दिन सकिरहेको छैन ।

‘अनलाइन बिल’ भुक्तानीका लागि चाहिने आवश्यक डाटा खानेपानी संस्थानसँग उपलब्ध नहुँदा सेवाग्राही मर्कामा परेको ‘अनलाइन बिलिङ’का सेवा दिईरहेका कम्पनीहरुको भनाई छ । र, पोखराको खानेपानी लाइन निकै पुरानो भएको र सबै जानकारी अनलाईनमा राख्न संस्थानले ढिलाई गरेको उनीहरुको बुझाई छ । ‘अनलाइन बिलिङ सुविधा दिने कम्पनीहरुले ‘ब्रिजिङ’को काम मात्र गर्ने हो । वास्तवमै सेवाग्राहीलाई सुविधा दिनका लागि संस्थानले नै त्यस्तो खालको सिस्टमको विकास गर्न आवश्यक हुन्छ ।’ खल्ती डटकमका प्रयासकुमार प्रधानले भने ।

‘अनलाइन बिलिङको सुविधा दिईरहेका सेवा प्रदायक कम्पनीहरुसँग सर्भर नमिल्दा पोखरेलीले यो सुविधा नपाएका हुन् । र, यो गुनासो यहाँका सेवाग्राहीहरुले पनि गर्दै आएका छन् ।’ खानेपानी संस्थान पोखराका प्रमुख आशिष कार्कीले भने–‘हामीले सेवाग्राहीको सुविधालाई मध्यनजर गर्दै यो सुविधा चाँडै उपलब्ध गराउनेछौँ ।’

खानेपानी संस्थान पोखरा शाखाले दिएको जानकारी अनुसार सबै काम भनेजस्तै भएको खण्डमा यो सुविधा पोखरेलीले एक महिनाभित्रै पाईसक्नेछन् । र, संस्थानले आफ्ना कर्मचारीलाई नयाँ अनलाइन सर्भरबाट कसरी सुविधा दिने भनेर यतिबेला तालिमहरु उपलब्ध गराईरहेको छ ।

अहिले पोखरामा ४३ हजार सेवाग्राही रहेको खानेपानी संस्थानले जनाएको छ । पोखराको खानेपानीको बिल तिर्नका लागि सेवाग्राहीहरु कार्यालयमै पुग्नुपर्ने बाध्यता छ । जसले गर्दा सेवाग्राहीहरुलाई झन्झटिलो प्रकृयाबाट गुज्रनु परिरहेको छ ।

र, यो पनि : 

कमेन्ट गर्नुहोस्
Share: