
काठमाडौं । कोभिड १९ (कोरोना भाइरस)को कारण ज्यान गुमाउनेको संख्या १७ सय ६९ पुगेको छ । पछिल्लो २४ घण्टामा थप एक सय जनाको ज्यान गएसँगै चीनमा १७ सय ६५ र चीनबाहिर फिलिपिन्स, हङकङ, जापान र फ्रान्समा एक/एक जना गरी १७ सय ६९ जनाको ज्यान गएको बीबीसीले जनाएको छ । गएको २४ घण्टामा कोभिड १९ का २ हजार ४८ नयाँ बिरामी भेटिएका छन् ।
योसँगै चीनमा संक्रमितको संख्या ७० हजार ९ सय ८८ पुगेको छ । कोरोना सुरु भएको हुवेईमा मात्र १६९२ जनाको ज्यान गएको बीबीसीले जनाएको छ । पछिल्ला दिनमा कोरोनाका कारण ज्यान गुमाउने र नयाँ संक्रमण हुने दर भने घटिरहेको छ ।
यसैबीच ४० जना अमेरिकी नागरिकमा कोरोना भाइरसको संक्रमण देखिएको छ । जापानमा राखिएको डाइमन्ड प्रिन्सेस क्रूज पानीजहाजबाट उद्धार गरिएका ४ सय अमेरिकीमध्ये ४० जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । कोरोनाको संक्रमण देखिएपछि उनीहरुलाई जापानमै राखेर उपचार सुरु भएको छ । बाँकी ३ सय ६० जना अमेरिकी भने स्वदेश फर्किरहेका छन् । अमेरिका फर्काइएकाहरुलाई पनि १४ दिन सम्म क्वारेन्टाइनमा राखेपछि मात्रै घर फर्काइने छ ।
यो सँगै पानीजहाजमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सँख्या ३ सय ५५ पुगेको छ । जापानको योकोहामा बन्दरगाहमा सञ्चालनमा रहेको क्रुजमा हङकङका एक जना नागरिकमा कोरोना भाइरस भएपछि सो क्रुजमा रहेका चालक दलका सदस्यसहित ३ हजार ७ सय जना यात्रुलाई फेबु्रअरी ३ तारिखदेखि क्वारेन्टाइनमा राखिएको थियो ।
