
बेइजिङ । कोरोना भाइरसको संक्रमणबाट चीनभरि मृत्यु हुने व्यक्तिको संख्या दुई हजार २३६ पुगेको चिनियाँ स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।
गत वर्षको अन्त्यमा चीनको हुबेई प्रान्तको वुहान सहरबाट सुरु भएको यस भाइरसका कारण मृत्यु हुने व्यक्तिको संख्या वृद्धि भए तापनि संक्रमितको संख्यामा भने कमी आएको चिनियाँ सरकारले जनाएको छ । यस भाइरसबाट चीनभरिमा मृत्यु हुने व्यक्तिको संख्या दुई हजार २३६ पुग्नुका साथै ७५ हजार ५७६ व्यक्ति संक्रमित भएका छन् ।
भाइरसको सुरुआत भएको प्रमुख स्थानका रूपमा रहेको हुबेई प्रान्तमा यस भाइरसबाट बढी नागरिक प्रभावित छन् । यस भाइरसबाट ८० प्रतिशत संक्रमित र मृत्यु हुने व्यक्तिमा ९५ प्रतिशत हुबेई प्रान्तको रहेका जनाइएको छ ।
चिनियाँ स्वास्थ्य अधिकारीहरुले कारागारमा पनि यसको सङ्क्रमण देखिएको बताएका छ्न् । शुक्रबार चिनियाँ अधिकारीहरुले जनाएअनुसार चिनियाँ कारागारमा रहेका करिब ४०० सय व्यक्ति कोरोना भाइरसबाट सङ्क्रमित भएको पाइएको हो ।
