
File Photo
पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले शनिबार संचालन गरेको एम.डी/एम.एस (स्नातकोत्तर) को प्रवेश परीक्षा रद्द भएको छ । परीक्षा समितिले आइतबार सूचना निकालेर परीक्षा रद्द भएको जानकारी दिएको हो । प्राविधिक कारण भनिएपनि परीक्षण रद्द गरिनुको येथेष्ट कारण भने खुलाइएको छैन ।
परीक्षाको नयाँ मिति भने परीक्षा समितिको बैठकले तय गर्ने बताइएको छ । शनिबार भएको परीक्षाको प्रश्नपत्र ढिलो बाँडेको र प्रश्नपत्र पहिल्यै बाहिरिएको भन्दै करिब ५ सय डाक्टरले परीक्षा बहिष्कार गरेका थिए । शनिबार राति अबेरसम्म परीक्षा समितिको बैठक बसेको थियो । बहिष्कार गरेका डाक्टरहरूले पुनः परीक्षा गर्न माग गरेका थिए ।
एक हजार डाक्टरले परीक्षण दिएपनि परीक्षा रद्द भएको बहिष्कार गरेका मध्येका एक डा. हुलास अग्रवालले जानकारी दिए । शनिबार प्रवेश परीक्षा हुने भनेर प्रतिष्ठानले परीक्षार्थीलाई २ बजे परीक्षा केन्द्र बोलाएको थियो । प्रवेश परीक्षाका लागि अमरसिहं नमुना मा.विलाई केन्द्र तोकिएको थियो ।
२ बजे सबै परीक्षार्थी कक्षाकोठामा पुगेपनि निर्धारित समयमा परीक्षा शुरू भएन । परीक्षा दिन पुगेका डाक्टरहरूले सोधखोज गर्दा परीक्षा केन्द्रमा प्रश्नपत्र नै आइनपुगेको जवाफ पाए । ५ सय डाक्टरले बहिष्कार गरेपनि ३ बजेबाट परीक्षा शुरू भएकोमा ५ बजे सकिएको थियो ।
शनिबार साँझ ५ बजे परीक्षा सकिएपछि डाक्टरहरू परीक्षा केन्द्रमा छलफल गर्न पुगेका थिए । तर, समितिका पदाधिकारीले बेवास्ता गरे ।
एम.डी/एम.एसको पढाई सञ्चालन अनुमति पाएपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले गएको पुष ०७ गते भर्नाका लागि एक महिने सूचना निकालेको थियो ।
लोकसेवातर्फ ९ र खुल्लातर्फ ८ गरी १७ सिटका लागि १५ सय बढी डाक्टरहरुले आवेदन दिएका थिए । उनीहरूले ४१ सय रुपैयाँ तिरेर आवेदन फारम भरेका थिए ।

