
पोखरा । नेपाल विद्यार्थी संघ पिएन क्याम्पस इकाइले कास्कीका सबै शैक्षिक संस्थाहरु फागुन १५ गतेदेखि अनिश्चितकालका लागि बन्द गर्ने घोषणा गरेको छ। आफ्ना नेता एवं स्ववियु सभापति पदका उम्मेदवार रेशम हमाल (राजेश) लाई क्याम्पस हाता भित्रैबाट प्रहरीले पक्राउ गरेको बिरोधमा बन्दको घोषणा गरेको हो।
इकाइ सभापति दीपक शर्मा वाग्लेले सोमबार विज्ञप्ति जारी गर्दै प्रशासनको मिलेमतोमा पक्राउ गरिएको भन्दै बिरोध स्वरुप शैक्षिक संस्था बन्दको घोषणा गरिएकाे जनाएका छन्। पिएन क्याम्पसमा नेविसंघ र अनेरास्ववियुको सांगठानिक मतभेदका कारण शैक्षिक गतिविधिमा असहज परिस्थिति सृजना भएको विज्ञप्तिमा उल्लेख गरेको छ ।
नेविसंघले नेताहरूमाथि लगाइएको झुठा र कपोलकल्पित मुद्धा खारेजी र विनाशर्त तत्काल रिहाइको माग राखी आन्दोलन घोषणा गरेको जनाएको छ । नेविसंघले पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई कडा कार्वाही गर्नुपर्ने र प्रधानमन्त्री केपी शर्मा ओलीले केकमा नेपालको नक्सा बनाएर काटेकोमा माफी माग्नुपर्ने माग समेत गरेको छ । घोषित कार्यक्रमअन्तर्गत नेविसंघले आज कास्कीमा सरकारी गाडी चलाउन रोक लगाएको छ ।

