तनहुँमा चितुवाको आक्रमणबाट एक बालिका घाइते

Share:

तनहुँ । तनहुँमा फेरी चितुवाको आक्रमणबाट एक बालिका घाइते भएकी छन् । घाइते हुनेमा शुक्लागण्डकी नगरपालिका–३ बनकेवाका नारायण न्यौपानेका २१ महिनाकी छोरी संस्कृति न्यौपाने रहेको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ ।

सोमबार साँझ छोरीलाई बाहिर राखेर एकैछिन घरभित्र पस्दा चितुवाले बालिकालाई आक्रमण गरेको जनाइएको छ । घरमै रहेका बुबाआमाले होहल्ला गरेपछि चितुवा भागेको थियो ।

आक्रमणबाट बालिकाको पेटमा सामान्य चोट लागेको छ । उनलाई दुलेगौडास्थित तनहुँ सेवा अस्पतालमा प्राथमिक उपचारपश्चात थप उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल लगिएको छ ।

गत फागुन २८ गते मात्रै चितुवाको आक्रमणबाट बन्दीपुर गाउँपालिका–५ याम्पामा सात वर्षीय अनुप नेपाली घाइते भएका थिए । बीस महिनाको अवधिमा जिल्लामा चितुवाको आक्रमणबाट नौ बालबालिकाले ज्यान गुमाएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: