
पोखरा । आज (शनिबार) २१ मार्च अर्थात अन्तर्राष्ट्रिय जातिय विभेद उन्मुलन दिवस । जातिय विभेद अन्त्यका लागि काम गर्ने विभिन्न संघसंस्थाले कार्यक्रम गरी यो दिवस मनाइँदैछ ।
यो वर्ष विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसका कारण नेपालमा यो दिवस ओझेलमा परे पनि ५५ औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवस स्मरण गराउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले दलित समूदायका साथै सम्पूर्ण देशवासी नेपाली दाजुभाई तथा दिदी बहिनीहरुमा शुभकामना व्यक्त गरेका छन् ।
शुभकामना सन्देशमा प्रधानमन्त्री ओलीले सबै प्रकारका विभेद विरुद्धको आन्दोलनमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने ज्ञात अज्ञात शहीदप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण पनि गरेका छन् ।
तत्कालीन सरकारले काला जातीहरूमाथि दमन गर्न रङ्गभेदी नीति लागु गरेको विरोधमा सन् १९६० मार्च २१ का दिन दक्षिण अफ्रिकाको सार्पभिल्ले भन्ने शहरमा कालाजातिहरूले सडक सघंर्ष गरेका थिए । त्यसबेला सुरक्षाकर्मीले बल प्रयोग गर्दा ६९ जना अधिकारकर्मीहरु मारिएका थिए भने ३ सय भन्दा बढी घाइते भएका थिए ।
सोहि घटनाको स्मरण गर्दै सन् १९६६ मा संयुक्त राष्ट्र संघले सबै प्रकारका जातिय बिभेद उन्मुलन सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धी पारित ग¥यो । नेपालले सन् १९७१ मा उक्त सन्धीको अनुमोदन गरेपछि मार्च २१ को दिनलाई रङभेद दिवसको रुपमा मनाउँदै आएको छ ।
